तीन वर्षमा उल्लेखनीय उपलब्धि हासिल: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीन वर्षे कार्यकालमा अघि सारेका प्राथमिकतामा उल्लेखनीय प्रगति हासिल भएको बताएका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कार्यभार सम्हाल्दा देशको अर्थतन्त्र कोभिड–१९ को असर, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव तथा नीतिगत अन्योलका कारण अत्यन्त चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे ।

त्यस्तो परिस्थितिमा निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने लक्ष्यका साथ काम गरेको उनले बताए ।

ढकालले आफ्नो कार्यकालका पाँच प्रमुख प्राथमिकतामा आर्थिक संकट समाधान, लगानी प्रवर्द्धन, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, रोजगारी सिर्जना तथा व्यवसायीको मनोबल अभिवृद्धि रहेको जानकारी दिए ।

उनका अनुसार महासंघले परम्परागत मागकर्ताको भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाउँदै नीतिगत सुधारमा नयाँ उचाइ हासिल गरेको छ । राष्ट्रिय आर्थिक बहसको आयोजना गरी सरकार, निजी क्षेत्र र सरोकारवालालाई एउटै मञ्चमा ल्याइएको उनले बताए ।

यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन सुधारका सिफारिस अघि बढाइएको उनले जानकारी दिए । साथै, निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरिनु र निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत हुनु महत्वपूर्ण उपलब्धि रहेको उनको भनाइ छ ।

ढकालले राज्य र निजी क्षेत्रबीचको सम्बन्धलाई टकरावबाट सहकार्यमा रूपान्तरण गर्न सफल भएको दाबी गरे । लगानीमैत्री वातावरण जोगाउन विभिन्न नीतिगत प्रस्ताव परिमार्जन गरिएको उनले बताए ।

लगानी प्रवर्द्धनतर्फ १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको तथा विभिन्न मुलुकसँग द्विपक्षीय लगानी संवाद र सम्मेलनमार्फत नेपाललाई लगानी गन्तव्यका रूपमा प्रस्तुत गरिएको उनले जानकारी दिए ।

त्यस्तै, महासंघको विधान संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई थप पारदर्शी, समावेशी र प्रतिस्पर्धी बनाइएको उनले बताए । निजी क्षेत्रको योगदानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यसलाई विकास साझेदारका रूपमा स्थापित गर्ने आधार तयार गरिएको पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =