इन्धनमा लगाइएका करहरू यथासम्भव घटाइयोस्: आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले महँगीले दैनिक जीवन प्रभावित भइरहेको बेला इन्धन मूल्य बढ्नुको प्रत्यक्ष असर यातायात, खाद्यान्न र आधारभूत खर्चमा परेको भन्दै इन्धनमा लगाइएका करहरू यथासम्भव घटाउन सरकार समक्ष माग गरेकी छन् ।
शनिवार सामाजिक सञ्जालमा एक लामो स्ट्याटस लेख्दै उनले राजस्व संकलन राज्यको आवश्यकता हो, तर नागरिकको जीवन सहज बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण दायित्व भएको बताएकी हुन् ।
उनले यही सन्तुलन कायम गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताएकी छन् । उनले मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेकी छन् ।
उनले विश्वव्यापी ऊर्जा संकटका कारण इन्धनको मूल्य बढिरहेको यस अवस्थामा धेरै देशहरूले आफ्ना नागरिकलाई राहत दिन कर कटौती गरेका बताएकी छन् ।
उनले अस्ट्रेलिया, भारत, इटाली, स्पेन र भियतनामजस्ता देशहरूले कर घटाएर जनताको बोझ कम गर्ने स्पष्ट कदम चालेको भन्दै नेपालमा भने पेट्रोलमा करिब ६२ रुपैयाँ र डिजेलमा करिब ४३ रुपैयाँ कर यथावत् रहेको बताएकी छन् ।
उनले समयमै उचित निर्णय लिइएमा जनतामा राहतको अनुभूति हुने विश्वास लिएको बताइन् ।









