गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके समाजमा रहेको गरिबी उन्मूलन गर्न सकिने बताएका छन् ।
आज आयोजित ६९ औँ सहकारी दिवस समारोहलाई सम्बोधन गर्दै उनले सहकारीले समाजमा रहेका दुःखी, गरिबको हराहर बनेर काम गरेको र अझै गर्नुपर्ने बताए ।
उनले भने, ‘सहकारी बलियो बन्यो भनेमात्र देशको अर्थतन्त्र बलियो बन्दै दुःखी गरिबको साहारा बन्ने छ ।’ जिल्ला सहकारी सङ्घले आयोजना गरेको सो कार्यक्रममा उहाँले आगामी दिनमा सहकारीलाई प्रभावकारी बनाउँदै जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको बताए ।
नेपालमा पहिलो पटक सहकारी स्थापना गरी देशको समृद्धिको यात्रा सुरु गरेको चितवनले अझै यसलाई बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले सहकारी बलियो भयो भनेमात्र देशको समृद्धि हुने बताइन् ।
समाजको विकासका लागि सहकारी आवश्यक छ । चितवनलाई सहकारीको उद्गम थलोका रूपमा विकास गर्दै अझै सशक्त बनाउन आवश्यक रहेको उनले बताइन् ।
भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले समाजको आर्थिक मेरुदण्डका रूपमा सहकारी अघि बढेको बताए । बखानसिंह गुरुङको सोच अहिले देशभरि फैलिएको भन्दै यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
सहकारी सङ्घ चितवनका अध्यक्ष शरदकुमार बर्तौलाले सहकारी संस्थाहरू कमजोर बन्न नदिनका लागि तीनै तहका सरकारहरू एक भएर लाग्न आवश्यक रहेको बताए । चितवनलाई सहकारीको जननिका रूपमा लिइँदै आइएको छ । कार्यक्रमअघि दिवसका अवसरमा प्रभातफेरी पनि गरिएको थियो ।








