सरकारले आफ्नो काम गरोस्, हामी कारबाही भोग्न तयार छौँ: अध्यक्ष स्वाँर

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताएका छन् ।

बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष स्वाँरले व्यवसायीहरूलाई मात्रै दोषारोपण गरेर समस्याको समाधान नहुने उल्लेख गर्दै सरकारले आफ्नो काम नगरेका कारण विकृति बढेको आरोप लगाएका हुन् ।

अध्यक्ष स्वाँरले अरूलाई औँला तेर्स्याउँदा बाँकी चार वटा औँला आफैँतिर तेर्सिने यथार्थ बिर्सन नहुने बताए । यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालक र परिचालकको भूमिका महत्त्वपूर्ण हुने भएपनि सरकारले उनीहरूको शिक्षा र प्रशिक्षणका लागि बजेट नछुट्याएकोमा स्वाँरले आपत्ति जनाए । उनले लाइसेन्स छान्ने जिम्मा निजी क्षेत्रलाई दिए अझ दक्ष चालकहरू छान्न सकिने दाबी समेत गरे ।

व्यवसायीहरू जिम्मेवारीबाट पन्छिन खोजेको भन्ने आरोपको खण्डन गर्दै उनले यातायात क्षेत्रमा व्यवसायीको घरखेत र सन्तानको भविष्य जोडिएको बताए । अध्यक्ष स्वाँरले प्रहरी र व्यवसायी दुवै सडकमा हुने भएकाले सहकार्य अनिवार्य रहेको बताए । इन्धनको मूल्य वृद्धिसँगै भाडा समायोजन र अन्य प्राविधिक विषयमा सरकार गम्भीर नभए महासङ्घ आन्दोलनमा उत्रिने चेतावनी समेत उनले दिए ।

सरकारले चाँडोभन्दा चाँडो व्यवसायीका माग सम्बोधन नगरे ५ दिनभित्र कडा कदम चाल्ने उनको भनाइ छ ।

उनले भने ‘हामी सच्चिन तयार छौँ, यसमा कुनै विवाद छैन । तर सरकारसँग बसेर बनाइएको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ । हामीले गल्ती गरे सजाय भोग्न तयार छौँ भनेर लिखित रूपमै ल्याप्चे लगाएर दिएका छौँ, अब सरकारले आफ्नो काम गरोस् । आजसम्म सरकारले चालक र परिचालकलाई तालिम दिन कति बजेट छुट्यायो ? उनीहरूलाई शिक्षित बनाउने काम सरकारको होइन ? लाइसेन्स दिने प्रणाली नै गलत छ, यसलाई सुधार्नुपर्छ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले मुलुकको यातायात क्षेत्रमा रहेको १३–१४ खर्बको लगानी र लाखौँको रोजगारीलाई सुरक्षित गर्न व्यवसायीहरूले आफैँबाट सुधारको सुरुवात गर्नुपर्नेमा जोड दिए ।

हालै प्रधानमन्त्री कार्यालयका पदाधिकारीहरूसँग भएको छलफलका विषयमा जानकारी दिँदै सिटौलाले सरकारले यातायात क्षेत्रका समस्या समाधानमा तदारुकता देखाएको र व्यवसायीहरूले पनि आफ्नो व्यवहार र सेवामा परिवर्तन ल्याउनुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष सिटौलाले सार्वजनिक सवारी साधनको सेवाप्रति उठिरहेका गुनासाहरूलाई सम्बोधन गर्न चालक र सह–चालकहरूलाई विशेष आग्रह गरे ।

उनले सवारी साधनभित्र फोहोर नगर्न, डस्टबिनको व्यवस्था गर्न र गाडीलाई सधैँ सफा राख्न निर्देशन दिए । सिटौलाले हवाई भाडा र सडक यातायातको भाडा समायोजनमा राज्यले विभेद गरेको आरोप लगाए ।

उनले भने ‘हाम्रो माग भनेको सुशासन हो । सामान्य समस्या समाधानका लागि पनि महानिर्देशक, सचिव वा मन्त्रीकहाँ धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । चालक र सह–चालकको बोलीवचन मिठो हुनुपर्छ । यात्रुलाई सम्मानजनक व्यवहार गर्नुपर्छ । बेलुका गाडी थन्काएपछि तास खेल्ने वा अन्य गलत गतिविधिमा लाग्नुको सट्टा आफ्नो व्यक्तित्व र सेवा सुधारमा लाग्नुपर्छ ।’

यातायात क्षेत्रलाई प्रविधिमैत्री र क्यासलेस (नगदरहित) बनाउन व्यवसायी तयार रहेको बताउँदै उनले त्यसका लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरे । साथै, विदेशमा जस्तै सार्वजनिक सवारीका लागि छुट्टै ‘लेन’ को व्यवस्था गर्नुपर्ने, ठुला सडकमा ठुला बस सञ्चालन गर्नुपर्ने र राजमार्गका होटलहरूको उचित अनुगमन हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =