बिहीवारदेखि एसईई परीक्षा, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने, एक महिनामै नतिजा प्रकाशन

काठमाडौं । बिहीवारदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक विष्णुप्रसाद ज्ञावलीले बिहीवारदेखि हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनकाअनुसार परीक्षा बिहान ८ बजेदेखि शुरु हुनेछ । यसवर्ष ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ । ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएको उप–नियन्त्रक ज्ञावलीले जानकारी दिए ।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन् । उप–नियन्त्रक ज्ञावलीकाअनुसार काठमाडौंका १ सय ३५ वटा परीक्षाकेन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । सबैभन्दा कम मनाङमा भने एउटा परीक्षाकेन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन् । जापानमा रहेको केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुने उनले जानकारी दिए ।
यसवर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन् । एक पटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीन पटकसम्म परीक्षा दिने अवसर प्रदान गरिएको उप–नियन्त्रक ज्ञावलीले जानकारी दिए । २०७९ सालमा नियमिततर्फ परीक्षामा सहभागी भएर हालसम्म उत्तिर्ण हुन नसकेका विद्यार्थी परीक्षामा सहभागी रहेको उनको भनाई छ ।
उप–नियन्त्रक ज्ञावलीकाअनुसार बालसुधार गृहमा रहेका विद्यार्थीको लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिनेगरी व्यवस्था मिलाइएको छ । बालगृह नजिकै रहेको परीक्षा केन्द्रको केन्द्राध्यक्षले प्रश्नपत्र र उत्तरपुस्तिकासहित निरीक्षक पठाएर बालगृहमा नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
उनकाअनुसार परीक्षा सकिएपछि संकलित उत्तरपुस्तिका सोही परीक्षा केन्द्रको विद्यार्थी भएमा अरु परीक्षार्थीसँगै राखेर जाँच गरिनेछ भने फरक केन्द्रको भएमा छुट्टै प्याकिङ गरेर परीक्षा नियन्त्रण कार्यलय पठाउने व्यवस्था गरिएको छ ।
विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीलाई पनि उनीहरुको आवश्यकताअनुसारको व्यवस्थापन गरिएको उनले जानकारी दिए । अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको उनले बताए । उनकाअनुसार ३ घण्टाको परीक्षामा उनीहरूलाई थप १ घण्टा ३० मिनेट समय दिइनेछ ।
लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने उनले जानकारी दिए । उनकाअनुसार लेखन सहयोगी विद्यार्थीलाई विद्यालयले प्रमाणित गर्नुपर्ने र उनीहरुलाई छुट्टै कक्षाको व्यवस्था गर्नेगरी तयारी गरिएको छ ।
उनले विद्यार्थीलाई परीक्षा केन्द्रमा समयमै उपस्थित हुन, प्रवेशपत्र, आवश्यक लेखन सामग्री साथमा ल्याउन तथा मोबाइल लगायत निषेधित सामग्री नल्याउन आग्रह गरेका छन् । परीक्षा बिहान ८ बजेदेखी शुरु हुने भएकाले ढिलोमा साढे ७ बजेसम्म परीक्षाकेन्द्रमा पुग्न र निर्धक्क भएर परीक्षा दिन आग्रह गरे ।
एक महिनामै नतिजा प्रकाशन
परीक्षा नियन्त्रक कार्यलयले यसवर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नेगरी तयारी गरेको छ । उप–नियन्त्रक ज्ञावलीले विगतमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने पनि स्पष्ट पारे । सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको उनको भनाई छ । उनकाअनुसार परीक्षाकेन्द्रमा नै उत्तरपुस्तिका जाँच गर्ने तयारी गरिएको छ ।
परीक्षा भएको विषयको सोही दिन परीक्षाकेन्द्रमा परीक्षक र संपरीक्षकहरुले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाईले तोकिएको समयमा लब्धांकपत्रहरु परीक्षा नियन्त्रण कार्यलय पठाउनेछ ।
परीक्षा नियन्त्रण कार्यलयले यसवर्ष अनुगमनमा पनि कडाई गर्ने जनाएको छ । परीक्षार्थीहरुलाई असहज हुनेगरी कक्षाकोठामा अनावश्यक भीडभाड नगर्न अनुगमनमा कडाइ गरिएको हो । कार्यलयले परीक्षा अवधिमा कुनै समस्या आए तुरुन्त निरीक्षकलाई जानकारी गराउन पनि विद्यार्थीलाई अनुरोध गरेको छ ।









