आठ दिनपछि खुल्यो वडा कार्यालयको तालाबन्दी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नम्बर वडा कार्यालयको ताला आठ दिनपछि खुलेको छ ।

गत साता वडाका स्थानीयले सडक निर्माण, ढल निकास र खानेपानीलगायतका माग राखेर वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

बुधबार स्थानीय र वडा कार्यालयबीच स्थानीयका माग सम्बोधन गर्ने सहमति भएपछि वडा कार्यालयको ताला खुलेको वडा सदस्य मीना कुँवरले जानकारी दिइन् । ‘वडाका एक सातादेखि तालाबन्दी हुँदा सेवाग्राही समस्यामा परेका थिए’, उनले भनिन्, ‘स्थानीयका जायज माग सम्बोधन गर्ने सहमति गरेर वडाको सेवा सञ्चालन भएको छ ।’

कार्यालय बन्द हुँदा दैनिक रूपमा आवश्यक पर्ने सिफारिस, प्रमाणपत्र, जन्मदर्तालगायतका काम पूर्ण रूपमा बन्द हुँदा सेवाग्राहीले दुःख पाएको यहाँका स्थानीय डबलबहादुर सिंहले बताए ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नागरिकका माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको जानकारी दिए । ‘उहाँहरूले सडक निमार्णको माग गर्नुभएको थियो, पालिकाबाट उक्त माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको छ’, उनले भने, ‘पालिकाबाट सम्भव नभएका योजना प्रदेशको बजेटबाट पूरा गर्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =