कांग्रेसभित्रको विवाद चर्किँदै, पार्टीको कार्यक्रममा सहभागी नहुने सुदूरपश्चिम महामन्त्रीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाहले पार्टीका कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै शाहले पार्टीभित्र देखिएको संवेदनशील, जटिल तथा चुनौतीपूर्ण परिस्थितिमा पार्टी एकजुट हुन नसकेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले यस्तो अवस्थामा पार्टीका गतिविधिमा संलग्न रहन नसक्ने निष्कर्षसहित आफू उक्त निर्णय लिन बाध्य भएको बताएका छन् ।
“मुलुकको वर्तमान राजनीतिमा हाम्रो पार्टीका जिम्मेवार नेतृत्वकर्ताहरूले खेलिरहेको आवश्यक अथवा अनावश्यक भूमिकाप्रति मेरो पूर्ण असन्तुष्टि रहेको छ,” शाहले उल्लेख गरेका छन् । “यो संवेदनशील तथा जटिल परिस्थितिमा नेपाली कांग्रेस एकजुट भएर उभिन नसकेकाले अब उपरान्त पार्टीका कुनै पनि कार्यक्रमहरूमा सहभागिता नजनाउने निर्णय लिएको छु।”
उनले आगामी दिनमा आफू दलगत राजनीतिबाट टाढा रहने सम्भावनासमेत औंल्याएका छन्।
शाहका अनुसार कांग्रेसभित्रको आन्तरिक विवाद यदि विभाजनतर्फ उन्मुख भए लोकतन्त्र र समाजवादप्रति आस्थावान कार्यकर्ताको भावनामा गम्भीर आघात पुग्नेछ । उनले पार्टी नेतृत्वलाई कांग्रेसको ऐतिहासिक विरासत जोगाउन र आन्तरिक एकता सुदृढ बनाउन आग्रहसमेत गरेका छन् ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शाह कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेसका उम्मेदवार थिए । निर्वाचनमा पराजित भए पनि आफू उक्त परिणामबाट हतोत्साहित नभएको र आफ्नो पछिल्लो निर्णयलाई चुनावी परिणामसँग नजोड्न उनले आग्रह गरेका छन् ।









