प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिवद्ध छुः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र साहको मिसन र भिजनअनुसार काम गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दैं उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । मन्त्री तिमिल्सिनाले मन्त्रीको रुपमा आफूलाईं कुनैपनि खालको गल्ती गर्ने छुट नभएको पनि स्पष्ट पारे ।
‘मेरो दिल भित्रबाट, मेरो मनभित्रबाट मैले कहिल्यै पनि कुनैपनि गलत गर्ने छुट छैन । कुनै गल्ती भयो भने ती शहीदहरुको सराप म माथि लाग्ने छ । म यो विषयमा एकदम धेरै चिन्तित पनि छु । र फोकस भएर काम पनि गर्नेछु । र यहाँहरु हरेकले आफ्नो तह र तप्काबाट यो मेरो मिसनमा यो देशमा नयाँ सरकार आएको छ । बालेन्द्र साह प्रधानमन्त्री हुनुभएको छ । हरेक मन्त्रालयले उहाँको मिशन र भिजनमा साथ दिने हो । म हाम्रो मन्त्रालयको तर्फबाट त्यसको लागि म पूर्ण रुपमा कटिवद्ध छु’ उनले भने ।
उनले राष्ट्रको हितमा गर्व गर्न लायक हुने गरी इमान्दारिताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिए । देशको हितमा कर्मचारीहरुले काम गर्नुपर्ने नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाको भनाई थियो ।
मन्त्री तिमिल्सिनाले हरेक कर्मचारीले आफ्नो क्षमताको पूर्ण रुपमा सदुपयोग गरेर काम गर्नुपर्ने बेला आएको पनि बताए । ‘एज ए टिम तपाईहरु सबैबाट एकदमै ठूलो अनेष्टिका साथ, इमान्दारिताका साथ यहाँको जति जे क्षमता छ । त्यो क्षमताको पूर्ण सदुपयोग गरेर किनभने यहाँहरुले पनि भोली यो मन्त्रालयबाट पनि रिटायर्ड हुनुपर्ला । जिम्मेवारीबाट पछि हटनु पर्ला । त्यतिबेला गर्व गर्न लायक एउटा वातावरण बनोसकि मैले यो देशले खोजेको बेलामा यति ठूलो योगदान गरेको थिए । त्यो दिन सम्झनालायक बनाउने जिम्मेवारी अव तपाईंको काँधमा पनि आएको छ । मेरो काँधमा पनि आएको छ । अब हामी एउटै परिवारजस्तो भएर यो देशको हितका लागि काम गर्नुपर्ने जिम्मेवारीमा छौँ’ उनले भने ।









