दुवाकोटमा काठमाडौँ मेडिकल कलेजको दोस्रो युनिट सञ्चालनमा, अत्याधुनिक सेवा विस्तार (तस्बिरहरू)

हृदयाघात भएका बिरामीको बिना शल्यक्रिया बन्द नसा खोल्ने, स्टेन्ट राख्ने, पेसमेकर जडान गर्ने तथा भल्भसम्बन्धी समस्या समाधान गर्ने उपचार उपलब्ध रहेको अस्पतालले जनाएको छ

भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको दोस्रो युनिट सञ्चालनमा आएको छ। नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको अनुभव र प्राविधिक सहयोगमा सुरु गरिएको उक्त अस्पताल तीन सय शय्याको क्षमतासहित सेवा विस्तार गरिएको हो।

अस्पतालमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकको निगरानीमा आकस्मिकदेखि नियमितसम्मका उपचार सेवा उपलब्ध हुने छन्। रोग पहिचानदेखि उपचारसम्मका सम्पूर्ण प्रक्रिया अत्याधुनिक उपकरण र प्रविधिमार्फत सञ्चालन गरिने अस्पतालले जनाएको छ।

अस्पतालमा मुटु तथा रक्त नलीसम्बन्धी जटिल रोगको उपचारका लागि क्याथल्याब सेवा सञ्चालनमा आएको छ। उक्त प्रविधिमार्फत हृदयाघात भएका बिरामीको बिना शल्यक्रिया बन्द नसा खोल्ने, स्टेन्ट राख्ने, पेसमेकर जडान गर्ने तथा भल्भसम्बन्धी समस्या समाधान गर्ने उपचार उपलब्ध रहेको अस्पतालले जनाएको छ। यसै प्रविधिबाट मस्तिष्कमा रक्तस्राव (ब्रेन हेमरेज) तथा शरीरका अन्य भागका अवरुद्ध रक्त नलीसम्बन्धी समस्याको उपचार पनि सम्भव रहेको बताइएको छ। मिर्गौलातर्फ जाने नसा खोल्ने उपचारसमेत यहाँ उपलब्ध छ।

अस्पतालमा ईआरसीपी सेवा पनि सञ्चालनमा छ, जसबाट पित्त नलीमा जमेको ढुङ्गा बिना शल्यक्रिया निकाल्न सकिन्छ। सबै प्रकारका शल्यक्रियाका लागि अत्याधुनिक मोडुलर अपरेसन कक्षहरू निर्माण गरिएका छन्। मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि आवश्यक पूर्वाधारसहित दिने र लिने दुवै पक्षको शल्यक्रिया एकै समयमा गर्न मिल्ने व्यवस्था गरिएको छ।

स्त्री तथा प्रसूति सेवा, नवजात शिशुका लागि भेन्टिलेटरसहितको एनआईसीयू सेवा, पेट तथा आन्द्रासम्बन्धी रोगको उपचार, दन्त सेवा लगायत विभिन्न विशेषज्ञ सेवा अस्पतालमा उपलब्ध छन्।

त्यसै गरी, इन्डोस्कोपी, कोलोनोस्कोपी, ईएनटी जाँच, एक्स–रे, भिडियो एक्स–रे, एमआरआई र सीटी स्क्यानजस्ता आधुनिक परीक्षण सेवा सञ्चालनमा छन्। निःशुल्क डायलिसिस सेवासमेत अस्पतालले उपलब्ध गराएको छ।

नेपाल सरकारअन्तर्गतका स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, विपन्न तथा आमा सुरक्षा कार्यक्रममार्फत पनि सेवा प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ।

सुविधा सम्पन्न क्याबिन, चौबीसै घण्टा आकस्मिक सेवा, औषधालय र एम्बुलेन्स सेवासहित अस्पतालले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

तस्बिरहरू:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =