कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन: वरिष्ठ अधिवक्ता भण्डारी

काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानून व्यवसायीहरूलाई पेशागत मर्यादा जोगाउन र आर्थिक रूपमा सबल बन्न वैकल्पिक आयका स्रोतहरू खोज्न सुझाव दिएका छन् ।
लामो समयदेखि कानून पेसामा आवद्ध भण्डारीले हालको समयमा कानून पेशा मात्रै जीवनयापन र धन आर्जनको भरपर्दो माध्यम हुन नसक्ने बताएका हुन् । आफ्नो लामो व्यावसायिक यात्राको स्मरण गर्दै भण्डारीले आफूलाई ‘अभागी भए पनि सौभाग्यशाली’ महशुस गरेको बताए ।
उनले आफ्ना आज्ञा पालना गर्ने र सल्लाह मान्नेहरू देशको ठूला मन्त्रीदेखि पहिलो महिला प्रधानन्यायाधीशसम्म भएकोमा गर्व व्यक्त गरे । सुशीला कार्की प्रधानन्यायाधीश भएको क्षणलाई उहाँले आफ्नो जीवनको एक महत्वपूर्ण र खुशीको उपलब्धिका रूपमा चित्रण गरे । ‘हामी यो पेशाले मात्रै धन पाउन सक्दैनौँ । यो पेशा अहिले ठगीको पेशा भइसक्या छ । हाम्रो अन्य बाटो पनि पाउनुपर्छ । अर्थ साधन हो, बिना अर्थ केही हुँदैन’ उनले भने ।
कानून पेशाको साथसाथै अन्य आर्थिक गतिविधिमा संलग्न भई आत्मनिर्भर बन्नुपर्नेमा उहाँको जोड छ । पेशालाई ठगीको आरोपबाट बचाउन र निष्ठा कायम राख्न आर्थिक अभाव हुन नहुने उहाँको तर्क छ ।








