धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागौँः मुख्यमन्त्री बानियाँ

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११ औँ राष्ट्रिय महाधिवेशनलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सबै जाती र समूदायले समान अधिकार प्राप्त गरेको जिकिर गरे । गणतन्त्र स्थापनापछि जनजाति, मधेशी, मुस्लिम, महिला तथा खस आर्य लगायत सबै समुदायले अधिकार प्राप्त गरेको उल्लेख गर्दै उनले अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने बताए ।
उनले समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरिसकेको भन्दै पहिचानको राजनीति संस्कृति, परम्परा र अस्तित्व जोगाउनका लागि आवश्यक भए पनि विभाजनकारी ढंगले प्रयोग गर्न नहुने धारणा राखे ।
उनले सशस्त्र द्वन्द्वकालीन सन्दर्भ उल्लेख गर्दै त्यस समयमा जातीय पहिचानभन्दा माथि उठेर सेना, प्रहरी र सर्वसाधारण नागरिकको ज्यान गएको स्मरण गराए ।
सबै वर्ग र समुदायको अधिकारको कार्यान्वयनसँगै मुलुकको समृद्धिका लागि एकतावद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ ।








