समानुपातिक सांसदले आज प्रमाणपत्र पाउने, साँझ राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाइने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदहरूलाई आज आधिकारिक प्रमाणपत्र प्रदान गर्दैछ । आयोगको सचिवालयमा बिहान ११ बजे आयोजना हुने एक विशेष समारोहका बीच नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फबाट निर्वाचित ११० जना सांसदहरूलाई आजै प्रमाणपत्र सुम्पिने तयारी पूरा भएको छ । यसअघि नै आयोगले दलहरूले प्राप्त गरेको मतभारका आधारमा सिट सङ्ख्या र सांसदहरूको नाम टुङ्गो लगाइसकेको छ ।

प्रवक्ता भट्टराईले उपलब्ध गराएको जानकारी अनुसार, यस पटक समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट र नेपाली कम्युनिस्ट पार्टीले ९ सिट प्राप्त गरेका छन् । यस्तै, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४-४ सिट सुरक्षित गरेका छन् ।

सांसदहरूलाई प्रमाणपत्र वितरण गरिसकेपछि आयोगको टोली निर्वाचनसम्बन्धी अन्तिम प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालय शीतलनिवास जाने कार्यक्रम छ । ‘आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन पेस गर्ने समय निर्धारण गरिएको छ,’ प्रवक्ता भट्टराईले भने । 

राष्ट्रपतिलाई प्रतिवेदन बुझाइसकेपछि आयोगले साँझ ५ः३० बजे पत्रकार सम्मेलन आयोजना गर्नेछ । उक्त पत्रकार सम्मेलनमार्फत गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समग्र नतिजा, तथ्याङ्क र प्रक्रियाबारे विस्तृत जानकारी दिइने आयोगले जनाएको छ । निर्वाचनको सबै नतिजा सार्वजनिक भएसँगै आयोगले आफ्नो संवैधानिक दायित्व पूरा गर्दै अन्तिम प्रतिवेदन बुझाउन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =