नतिजा सुधारभन्दा गुणस्तरीयतामा ध्यान दिन सुझाव

कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको सुधारभन्दा पनि गुणस्तरीयतामा ध्यान दिन सुझाव दिएका छन् ।

शिक्षा विकास निर्देशनालय सुर्खेतद्वारा आज आयोजित एसइई व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले केवल नतिजाले मात्र शिक्षाको गुणस्तर मापन नहुने भएकाले गुणस्तरीयता प्रमुख आधार भएको जिकिर गरे । यसका लागि विद्यालय शिक्षा सुधारका लागि सबै तहले जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

शिक्षा ऐनलाई मात्र देखाएर कतिपय सामान्य काम पनि हुन नसकिरहेको टिप्पणी गर्दै मन्त्री भण्डारीले सबैले आफ्नो भूमिका अनुसारको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । उनले भने “शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश तहबाट विभिन्न काम भइरहेको छ र आगामी दिनमा गर्नुपर्ने नीतिगत कामप्रति हामी प्रतिबद्ध छौँ ।”

विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि राज्यको लगानी थुप्रै भएपनि जीवनोपयोगी शिक्षण सिकाइ हुन् नसकिरहेको मन्त्री भण्डारीले यसका लागि शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । परीक्षाको नतिजा परीक्षा सञ्चालन व्यवस्थापनको आधारमा हुने गरेकाले सोही बमोजिम सञ्चालन गर्न उनले सुझाए ।

शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दीपा हमालले एसइई परीक्षा व्यवस्थित तथा मर्यादित रूपले सञ्चालन गर्न दशवटै जिल्लाका परीक्षा समन्वय समितिलाई आवश्यक निर्देशन दिइएको बताए । यसका लागि स्थानीय तह, अभिभावक, विद्यालय स्वयंले आआफ्नो दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =