रास्वपा सांसदहरूको प्रतिबद्धताः जनआकांक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर काम गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूले जन अपेक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर आफूहरूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधवार पार्टीका सांसदहरूको अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी भएका उनीहरूले जनताको आकांक्षालाई सम्बोधन गर्ने र भ्रष्टाचारमुक्त मुलुक बनाउने कुरालाई आफूहरूले प्राथमिकताका साथ अघि बढाउने योजना अघि सारेका हुन् ।

सांसद हरि ढकालले सुशासनका लागि मुहान नै सफा गरेर अघि बढ्ने संकल्प आफूहरूले लिएको बताए । उनले जनताको अपेक्षा पूरा गर्न पनि आफूहरूले धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए ।

सांसद ढकालले भने, ‘सबै भन्दा मुख्य कुरा मुहान हो । मुहान सफा भए पछाडि नै तल सङ्लिने हो । सुशासनको मुख्य एजेण्डामा काम गर्नुछ । त्यसका लागि काम गर्न स्पष्ट जनमत पुगेको छ । जनअपेक्षा र सुशासनका लागि मुख्यतया मुहान देखिकै काम हुन्छ । मुहानदेखि नै काम भएपछि तल सङ्लो भईहाल्छ ।’

यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै सांसद भएकी भुमिका श्रेष्ठले पछाडि पारिएका सबै समुदायको हित प्रवद्र्धनमा आफूले काम गर्ने बताइन् । उनले अल्पसंख्यक समुदायको आवाजलाई आफूले संसदबाट मुखरित गर्ने योजना पनि सार्वजनिक गरिन् ।

सांसद श्रेष्ठले भनिन्, ‘नेपालमा जहिले पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई उपेक्षा गरिएको छ । यो पछाडि पारिएको वर्ग हो । अहिले जुन तरिकाले राष्ट्रिय स्वतन्त्र पार्टीले समावेशिता र समताको एउटा मूल धारलाई अगाडि ल्याउन कोशिस गरेको छ । त्यसको एउटा ज्वलन्त उदाहरण म बन्न गएको छु । पार्टी पदाधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु । संसदमा मेरो एजेण्डा भनेको म जस्तो लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको आवाज, नागरिकका स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक न्यायको विषयमा भएको विभेदहरूको न्यूनीकरण गर्न, अन्त्य गर्न मेरो मुख्य एजेण्डा हुनेछ ।’

आफूहरूको ५ वर्षे कार्यकाल मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रित हुने सांसद आशिका तामाङको भनाई छ । उनले भ्रष्टाचारको अन्त्य मात्रै भए मुलुकले ठूलो फडको मार्ने जिकिर समेत गरिन् ।

सांसद तामाङले भनिन्, ‘अब आउने दिनमा भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापना गर्ने भनेर हामी आएका हौँ । यो नभई यो ५ वर्षको कार्यकालमा हामीले भ्रष्टाचार मात्रै अन्त्य गर्न सक्यौँ भने देशले छल्याङ मार्छ ।’

सांसद सागर ढकालले पार्टीले निर्वाचनको बेला सार्वजनिक गरेको वाचा पत्र कार्यान्वयनमा आफूले जोड दिनु बताए । उनले जनताका सानासाना आकांक्षालाई पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि बताए ।

सांसद ढकालले भने, ‘हाम्रो पहिलो रणनीति सानासाना कुराहरूलाई, सानासाना जनताका आकांक्षाहरु छन् । तिनलाई पूरा गर्दै हामी ठूलो भिजिनरी रूपमा देशलाई अगाडि बढाउनु पर्छ भन्ने कुरामा हामी सचेत छौँ । देशलाई अघि बढाउने विषयमा स्पष्ट रूपमा हाम्रा बाचा पत्रहरूमा उल्लेख गरिएका छन् । यो बाचा पत्रलाई हामीले जमिनमा टेकाउनुपर्नेछ । त्यसका लागि हामी काम गरिरहेका छौँ ।’

सांसद ढकालले मुलुकलाई अघि बढाउने ठूलो योजनाहरूमा पनि आफूहरूले काम गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =