इजरायली हमलामा इरानी सुरक्षा प्रमुख लारिजानी मारिएको पुष्टि

काठमाडौं । इरानको राष्ट्रिय सुरक्षा र रणनीतिका मुख्य योजनाकार एवं सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीको इजरायली आक्रमणमा परी मृत्यु भएको छ । सोमबार भएको भीषण सैन्य आक्रमणमा लारिजानी मारिएको विषयलाई इरान र इजरायल दुवै पक्षले आधिकारिक रूपमा पुष्टि गरेका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले मंगलबार एक विशेष विज्ञप्ति जारी गर्दै लारिजानीको मृत्यु भएको जनाएको हो । उक्त आक्रमणमा लारिजानीका साथै उनका छोरा र सहयोगी अलीरेजा बायातको पनि ज्यान गएको छ । इजरायली रक्षामन्त्री इजरायल कात्जले यसअघि नै लारिजानीलाई निशाना बनाएर गरिएको कारबाही सफल भएको दाबी गरेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार वर्तमान युद्ध सुरु भएयता इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि मारिने लारिजानी सबैभन्दा उच्च तहका व्यक्ति हुन् ।

इरानी सत्ता संरचनामा अत्यन्तै प्रभावशाली र व्यावहारिक नेताको छवि बनाएका लारिजानीको अवसानले इरानको सुरक्षा रणनीतिमा ठूलो धक्का लाग्ने अनुमान गरिएको छ । इजरायलले इरानका अन्य उच्च सैन्य अधिकारीहरूलाई पनि तारो बनाइरहेको छ । यसै क्रममा इरानी अर्धसैनिक बल ‘मसिज मिलिसिया’ का प्रमुख कमान्डर घोलामरेजा सोलेमानी पनि मारिएको समाचार प्राप्त भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानविरुद्धको आक्रमण थप तीव्र बनाउने संकेत दिएका छन् ।

विश्व तेल आपूर्तिमा संकट र आर्थिक प्रभाव
करिब तीन सातादेखि जारी अमेरिका–इजरायल र इरानबीचको यो द्वन्द्वले अहिले क्षेत्रीय महायुद्धको रूप लिँदै गएको छ । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईले हाललाई युद्धविराम वा तनाव न्यूनीकरणका कुनै पनि प्रस्ताव स्वीकार नगर्ने अडान लिएका छन् । इजरायल र अमेरिका पछि नहटेसम्म शान्ति वार्ताको सम्भावना नरहेको उनको दाबी छ ।

यता, रणनीतिक रूपमा महत्त्वपूर्ण सामुद्रिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ लगभग बन्द भएपछि विश्वभर तेलको आपूर्तिमा गम्भीर अवरोध सिर्जना भएको छ । विश्वको कुल इन्धन आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्ने यस मार्गमा अवरोध भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ४५ प्रतिशतसम्मले वृद्धि भएको छ । इरानले अमेरिका र इजरायलसँग सम्बन्धित तेल ट्याङ्करहरूमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ ।

युरोपेली संघकी विदेश नीति प्रमुख काजा काल्लासले जलडमरूमध्य खुला राख्न कूटनीतिक पहलको खाँचो रहेको औंल्याएकी छन् । उनले स्थिति नियन्त्रण बाहिर गएमा विश्वव्यापी रूपमा खाद्य, मल र ऊर्जाको ठूलो संकट आउन सक्ने चेतावनी दिएकी छन् ।

अमेरिकी असन्तुष्टि र बढ्दो सैन्य गतिविधि
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूले पर्याप्त सैन्य सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले नेटो सदस्य राष्ट्रहरूसहित जापान, अस्ट्रेलिया र दक्षिण कोरियाको भूमिकाप्रति कडा आलोचना गरेका छन् । यद्यपि, अधिकांश पश्चिमी मुलुकहरूले यो युद्धमा प्रत्यक्ष संलग्न हुन अस्वीकार गर्दै आएका छन् ।

इरानले इजरायलको व्यापारिक केन्द्र तेल अभिभमा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ, जसमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । युद्ध सुरु भएयता इजरायलतर्फ मृतकको संख्या १४ पुगेको छ । इरानले प्रतिशोधस्वरूप क्लस्टर हतियार प्रयोग गरेको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =