बेनी हाइड्रोपावर प्रोजेक्टको आइपीओ खुल्यो, कसरी दिने आवेदन ?

काठमाडाैं । बेनी हाइड्रोपावर प्रोजेक्टले आज (आइतबार)देखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रूपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये १० करोड ४० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ५ लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका १ लाख ४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।
सो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा चैत १५ गते हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत १५ गतेसम्म लम्बिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यपिटल रहेको छ ।
स्थानीयले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू, एनएमबी बैंकको सल्लेशी शाखा, लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर मेरो सेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।









