छिमेकी मुलुकलाई निशाना नबनाउन इरानलाई हमासको आग्रह

काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले इरानलाई आफ्ना छिमेकी राष्ट्रहरूमाथि आक्रमण नगर्न विशेष आग्रह गरेको छ । शनिबार एक वक्तव्य जारी गर्दै हमासले क्षेत्रीय शान्ति र स्थिरताका लागि छिमेकी देशहरूलाई निशाना बनाउने कार्य रोक्न इरानको ध्यानाकर्षण गराएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमासले इरानी नेतृत्वलाई ‘दाजुभाइ’ को सम्बोधन गर्दै छिमेकी मुलुकहरूमाथि हमला नगर्न अनुरोध गरेको छ । यद्यपि, अमेरिका र इसराइलबाट हुने सम्भावित आक्रमणको प्रतिकार गर्ने र जबाफ दिने अधिकार भने इरानसँग सुरक्षित रहेको हमासले स्पष्ट पारेको छ ।

गत फेब्रुअरी २८ मा इरानमाथि भएको आक्रमणपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ । त्यसयता इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरू र कतिपय सार्वजनिक स्थलहरूलाई लक्षित गरी ड्रोन तथा मिसाइल प्रहार गर्दै आएको छ । यसै सन्दर्भमा हमासले पहिलोपटक इरानको रणनीतिक नीतिबारे सार्वजनिक रूपमा टिप्पणी गरेको हो । यसअघि युद्धका क्रममा हमासले इरानसँग पूर्ण ऐक्यबद्धता जनाउँदै आएको थियो ।

हमासले जारी गरेको वक्तव्यमा विश्वका सबै मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरूलाई मध्यपूर्वमा जारी हिंसा र युद्ध तत्काल रोक्नका लागि पहल गर्न समेत आह्वान गरिएको छ ।

इरानले मध्यपूर्वमा इसराइलको घेराबन्दीका लागि विभिन्न सशस्त्र समूहहरूलाई परिचालन गर्दै आएको मानिन्छ । जसलाई ‘एक्सिस अफ रेसिस्टेन्स’ भनिन्छ । यसअन्तर्गत लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकका विभिन्न विद्रोही समूहहरू सक्रिय छन् । यी समूहहरूलाई इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आइआरजिसी) अन्तर्गतको ‘कुद्स फोर्स’ ले सैन्य तालिम र हतियार सहयोग उपलब्ध गराउँदै आएको छ ।

विशेष गरी लेबननको हिजबुल्लाहले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदला लिन भन्दै इसराइलमाथि निरन्तर आक्रमण गरिरहेको छ । यता यमनका हुथी लडाकूहरूले पनि इरानको नीतिमा आफ्नो बलियो समर्थन रहेको दोहोर्‍याउँदै आएका छन् ।

सन् २०२३ अक्टोबरमा हमासले इसराइलमाथि आक्रमण गरेपछि सुरु भएको भीषण युद्ध गत अक्टोबरमा युद्धविराममा परिणत भएको थियो । तर, पूर्ण रूपमा शान्ति बहाली हुन नसक्दा बेलाबेलामा हिंसात्मक झडपहरू जारी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =