समानुपातिक सांसद बन्न श्रम संस्कृति पार्टीमा दौडधुप, हर्क साम्पाङ दिक्क !

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले जितेको सिट संख्या निर्धारण गरेसँगै श्रम संस्कृति पार्टीमा सांसद बन्ने आकांक्षीहरूको दौडधुप सुरु भएको छ ।

समानुपातिक प्रणालीअन्तर्गत ४ सिट जितेको उक्त पार्टीमा बन्दसूचीमा रहेका केही नेताहरूले सामाजिक सञ्जालमार्फत आफूलाई सांसद बनाउनुपर्ने माग सार्वजनिक गर्न थालेपछि पार्टीभित्रै दबाब बढेको हो ।

पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले समानुपातिक सांसद छनोट आफ्नो लागि टाउको दुखाइ बनेको संकेत गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भात खाऊ, मेरो टाउको नखाऊ ।’

त्यसपछि उनले थप चेतावनी दिँदै लेखेका छन्, ‘समानुपातिक विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्नेछु। हद भो!’

श्रम संस्कृतिले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेकी समला साम्पाङ राई र आशा लामा लगायतले सार्वजनिक रूपमा आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् ।

समला साम्पाङ राईले सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले आफूलाई समानुपातिक सांसद बनाउनुपर्ने माग गरेकी छन् । समलाको नाम आदिवासी जनजाति महिला क्लस्टरको बन्दसूचीमा १६औँ नम्बरमा रहेको बताइएको छ ।

यस्तै बन्दसूचीमा रहेकी आशा लामाले पनि आफूलाई समानुपातिक सांसद नबनाइए अध्यक्ष साम्पाङको घरमै धर्ना बस्ने चेतावनी दिएको उल्लेख गरेकी छन् ।

आदिवासी जनजाति महिला क्लस्टरतर्फ उनको नाम तेस्रो नम्बरमा रहेको छ । उनी दबाब दिन काठमाडौंबाट धरान पुगेकी छन् ।

प्रत्यक्षतर्फबाट निर्वाचित अध्यक्ष हर्क साम्पाङसहित ध्रुवराज राई र आरेन राई तीनै जना आदिवासी जनजाति क्लस्टरका पुरुष हुन् । त्यसैले श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ प्राप्त चार सिटमध्ये कम्तीमा तीन सिट महिलालाई दिनुपर्ने अवस्था देखिएको छ ।

प्रतिनिधिसभामा कुल सांसद संख्याको ३३.३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण यस्तो बाध्यता देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =