मध्यपूर्वमा रहेका नेपालीहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्छ: श्रमविज्ञ नेपाल

काठमाडौँ । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धारको पहल गर्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले त्यस क्षेत्रमा धेरै नेपालीहरू समस्यामा रहेको बताएका हुन् ।
उनले सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताएकोप्रति असन्तुष्टि जनाउँदै धेरै नेपालीहरू देश फर्किन चाहेको उल्लेख गरे । उनले द्वन्द्व जारी रहेकोले नेपाल फर्किन चाहनेहरूलाई उद्धार गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए । हालसम्म झन्डै ७० हजार नेपालीले सरकारको पोर्टलमा असुरक्षित रहेको नाम दर्ता गराइसकेको उनको भनाई छ ।
अवैध रूपमा काम गरिरहेका धेरै नेपालीहरू सरकारी रेकर्डमा नभएकोले यो संख्या अझ बढ्न सक्ने उनले बताए । उनकाअनुसार अवैध रूपमा काम गर्न गएका नेपालीहरू कानुनी झन्झटमा पर्ने डरले पोर्टलमा नाम दर्ता गर्न हिच्किचाइरहेका छन् । डा. नेपालले सरकारको प्रयास सकारात्मक भएपनि उद्धार कार्यमा भने प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे ।
उनले प्राथमिकताका आधारमा गर्भवती महिला, अवैध बसेका नेपालीहरू र बढी जोखिम क्षेत्रमा रहेकाहरूलाई उद्धार गर्नुपर्नेमा जोड दिए । उनले द्वन्द्वमा सबैभन्दा बढी आप्रवासीहरू परेको बताए । सम्बन्धित देशहरूले आफ्ना नागरिकलाई सुरक्षित राख्ने गरेको र बाह्य देशका नागरिकलाई भने सुरक्षामा चासो नदेखाएको पाईएको जानकारी दिए ।
उनले भने ‘मान्छेहरू एकदमै प्यानिक भएर बसेका छन् । त्यो संख्या ठुलो नहोला, तर हामीले कुराकानी गरिरहेका कोही यही बस्छौ भन्ने पनि भेट्यौँ तर धेरै चाहिँ उद्धार गरिदिए हुन्थ्यो भन्नेछन् । झन्डै ७० हजारले पोर्टलमा नाम पनि टिपाइरहनु भएको छ । अर्कोतर्फ सरकारका मन्त्रीज्यु नै बसेर तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेन भनेर बोलियो तर उद्धार गर्नुपर्ने अवस्था छ । ७० हजारको हाराहारीमा त ईनलिष्टेड हुनुभयो । त्यो संख्या माथि जान सक्छ, जो अवैध रूपमा काम गरिरहेका छन्, उनीहरू रेकर्डमा छैनन् । अवैध रूपमा काम गर्न गएकाहरू सूचिकृत हुँदा कानुनी झन्भटमा पर्ने डरले सूचिकृत भएका छैनन्, त्यसकारण उद्धार गर्नुपर्ने संख्या अझ माथि जान सक्छ । सरकारको प्रयास राम्रो हुँदाहुँदै पनि उद्धार गर्न सकिरहेको छैन । अर्को कुरा सरकारले सही सूचना पनि दिन सकेन । सरकारले सुरक्षित रहनुहोला भनेर मात्रै सूचना दिइरहेको छ, त्यतिले मात्रै पुग्दैन ।’
उनले सरकारले सुरक्षासम्बन्धी स्पष्ट र पर्याप्त सूचना प्रवाह गर्न नसकेको पनि बताए । सरकारले ‘सुरक्षित रहनुहोस्’ भनेर मात्र सूचना दिइरहेको उल्लेख गर्दै उनले कसरी सुरक्षित हुने, कहाँ के भइरहेको छ भन्ने बारेमा भने जानकारी नगराएको बताए । त्यहाँ रहेका नेपालीहरूलाई दैनिक दुई,तीन पटक त्यहाँको वस्तुस्थितिको बारेमा सरकारले यर्थात जानकारी दिनुपर्ने उनको भनाई छ ।








