एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउँदै हिमालयन लाइफ

काठमाडौं । बीमा क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एजेन्सी मेनेजरहरूका लागि विशेष डिजिटल सुविधा सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभर छरिएर रहेका एजेन्सी मेनेजरहरूलाई आफ्नै सफ्टवेयर प्रणाली (एजेन्सी पोर्टल) मा पहुँच दिँदै अनलाइनमार्फत बीमा प्रस्ताव पेश गर्ने व्यवस्था मिलाएको हो ।
यो नयाँ व्यवस्थासँगै अब एजेन्सी मेनेजरहरू बीमा प्रस्ताव स्वीकृत गराउन भौतिक रूपमा कम्पनीको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । उनीहरूले आफ्नो घर वा कार्यालयमै बसेर पोर्टलको प्रयोग गरी बीमा प्रस्तावका लागि आवश्यक कागजात र विवरणहरू डिजिटल माध्यमबाटै पेश गर्न सक्नेछन् । मेनेजरहरूले पठाएका विवरणहरूको आधारमा कम्पनीले अनलाइनबाटै ‘अण्डरराइटिङ’ (बीमा जोखिम मूल्याङ्कन) गरी प्रक्रिया पूरा भएपछि तत्कालै प्रस्ताव स्वीकृत गर्ने प्रबन्ध मिलाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कपिल कुमार दाहालका अनुसार, एजेन्सी मेनेजरहरूलाई कम्पनीको अण्डरराइटिङ प्रक्रियाको अभिन्न हिस्सा बनाउने उद्देश्यले यो सुविधा ल्याइएको हो । ‘निश्चित शर्तहरू पूरा गरेका एजेन्सी मेनेजरहरूलाई यो प्रणालीमा पहुँच दिइएको छ,’ सिइओ दाहालले भने, ‘यसबाट बीमा प्रस्ताव स्वीकृत गर्ने प्रक्रिया छिटो, छरितो र थप सहज हुनेछ ।’
यस पोर्टलबाट बीमा प्रस्ताव मात्र नभई एजेन्सी मेनेजरहरूले आफ्नो व्यवसायसँग सम्बन्धित रिपोर्ट र अन्य विस्तृत विवरणहरू पनि सजिलै हेर्न र जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीले आगामी दिनमा आफ्ना सेवाहरूलाई अझ बढी प्रविधिमा आधारित बनाउँदै लैजाने योजना बनाएको छ । हिमालयन लाइफको यो कदमले बीमा व्यवसायमा आबद्ध जनशक्तिलाई प्रविधिसँग जोड्नुका साथै सेवाग्राहीलाई समेत छिटो सेवा पुर्याउन मद्दत पुग्ने विश्वास गरिएको छ । ।








