तेल बजारमा इरानको रणनीतिक प्रहार, स्ट्रेट अफ होर्मुज ठप्प पार्ने चेतावनी

काठमाडौं । इरानका नवनियुक्त सर्वोच्च नेता मोज्तबा खामेनीले विश्व इन्धन आपूर्तिको लाइफलाइन मानिने ‘स्ट्रेट अफ होर्मुज’मा जारी अवरोधलाई थप कडा बनाउने घोषणा गरेका छन् । इरानी सरकारी टेलिभिजनमार्फत एक सन्देश जारी गर्दै उनले विश्व बजारमा रणनीतिक दबाब सिर्जना गर्न यो कदम चालिएको स्पष्ट पारेका हुन् ।

सर्वोच्च नेता नियुक्त भएयता मोज्तबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै तस्बिर वा भिडियो सार्वजनिक नभएको अवस्थामा इरानी सञ्चारमाध्यमले समाचार वाचकमार्फत उनको लिखित सन्देश पढेर सुनाएका थिए । फेब्रुअरीको अन्तिम साता अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा पूर्व सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको मृत्यु भएपछि उनका छोरा मोज्तबाले सत्ताको बागडोर सम्हालेका हुन् ।

आफ्नो पहिलो औपचारिक सन्देशमा खामेनीले अमेरिका र इजरायलसँगको द्वन्द्वमा ज्यान गुमाएका इरानीहरूको ‘रगतको बदला’ लिने दृढता व्यक्त गरेका छन् । उनले मध्यपूर्वका छिमेकी मुलुकहरूलाई सम्बोधन गर्दै आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य अखडाहरू तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् । ‘हामी हाम्रा १५ वटा छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौँ र सकारात्मक छिमेकी नीतिको पक्षधर छौँ,’ सन्देशमा भनिएको छ , ‘तर हाम्रो देशमाथि आक्रमण गर्ने र हाम्रा नागरिकको हत्या गर्ने शक्तिलाई प्रश्रय दिने पक्षप्रति उनीहरूको धारणा स्पष्ट हुनुपर्छ । म ती देशहरूलाई आफ्नो भूमिबाट अमेरिकी सैन्य अड्डा यथाशीघ्र हटाउन सुझाव दिन्छु ।’

विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने ‘स्ट्रेट अफ होर्मुज’ अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा तीव्र उछाल आएको छ । इरानले सो मार्ग भएर अमेरिका, इजरायल र उनीहरूका साझेदार मुलुकतर्फ जाने तेल ट्याङ्करहरूलाई मुख्य निशाना बनाउने चेतावनी दिएको छ । तेहरानले एक विज्ञप्ति जारी गर्दै वर्तमान अवरोधका कारण विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल २०० अमेरिकी डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । यसले विश्व अर्थतन्त्रमै गम्भीर धक्का पुग्ने विश्लेषण गरिएको छ ।

इरानको पछिल्लो कदमलाई अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले ‘इतिहासकै सबैभन्दा ठूलो आपूर्ति अवरोध’ को संज्ञा दिएको छ । बजारमा व्याप्त अनिश्चितता र अभावलाई कम गर्न एजेन्सीले आफ्नो आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल विश्व बजारमा पठाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =