समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकारात्मक: कानूनमन्त्री सिन्हा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग स्वास्थ्यसम्बन्धी समस्या भएपनि समाजमा यसलाई हेर्न दृष्टिकोण अझै नकारात्मक रहेको बताएका छन् ।

२८ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले कुष्ठरोग निवारणयोग्य स्वास्थ्य समस्या भएपनि समाजमा अझै उपेक्षा र नकारात्मक धारणा कायम रहेको बताएका हुन् ।

कुष्ठरोगबाट प्रभावित व्यक्तिहरू सामाजिक, मनोवैज्ञानिक र आर्थिक रूपमा समेत जटिल समस्यामा परेको उनले बताए । उनले सामाजिक व्यवहार सुधार गर्न प्रारम्भिक चरणदेखि नै सकारात्मक शिक्षा आवश्यक रहेको बताए । समाजमा फैलिएको गलत धारणा र भेदभावपूर्ण व्यवहार अन्त्य गर्न सामाजिक चेतना अभिवृद्धि अपरिहार्य रहेको उनको भनाई छ ।

प्रभावित व्यक्तिहरूले भोग्ने पीडालाई शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गर्दै उनले कुष्ठरोग निवारणका लागि सरकारले आवश्यक पहलहरू पर्याप्त रूपमा गर्न नसकेको स्वीकार गरे । नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै उनले शारीरिक अवस्थाका आधारमा भेदभाव गर्न नहुने व्यवस्था पनि स्पष्ट पारे ।

कुष्ठरोगलाई स्वास्थ्यसम्बन्धी रोगका रूपमा उपचार गर्दै प्रभावित व्यक्तिहरूको मनोवैज्ञानिक अवस्था र सामाजिक प्रतिष्ठालाई जोगाउन विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । मन्त्री सिन्हाले प्रभावित व्यक्तिहरूलाई समाजमा पुनः स्थापित गर्न ज्ञान, सीप, कला र शिक्षामा आधारित प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

उनले भने ‘कुष्ठरोग स्वास्थ्यसँग सम्बन्धित रोग भएपनि यसको प्रभाव यो भन्दा बढी रहेको अनुभव हामीसँग छ । प्रभावित व्यक्तिलाई सामाजिक, मनोवैज्ञानिक र आर्थिक रूपमा असर पर्ने जटिल प्रक्रिया र अवस्थाहरू हामीले शब्दमा व्यक्त गर्न सक्दैनौँ । हामीले बुझेका छौँ, गर्दैछौँ भनेर भनेपनि अहिलेसम्म जे जति गर्नुपर्ने हो त्यति गर्न नसकेकोमा सरकारको तर्फबाट यहाँहरूसँग क्षमा याचना गर्न चाहन्छु । यो निवारणयोग्य स्वास्थ्य समस्या भएपनि यो रोगप्रतिको सामाजिक उपेक्षा छ । हामीले एकआपसमा गर्ने सामाजिक व्यवहार सुधार गर्न आवश्यक छ । यसको लागि सुरुवाती शिक्षा आवश्यक छ । यस रोगप्रतिको नकारात्मक शिक्षा प्रदान गर्ने हाम्रो सामाजिक विकृतिबाट हामी बाहिर निस्किन अत्यन्तै आवश्यक रहेको छ । नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने हक प्रत्याभूत गरेको छ । शारीरिक अवस्थाको आधारमा भेदभाव गर्न नहुने भनी समानताको हक पनि सुनिश्चित गरेको छ । त्यसैले यस रोगलाई हामीले स्वास्थ्यसम्बन्धी रोग हो भनी उपचारात्मक उपायबाट निवारण गर्दैगर्दा यसबाट प्रभावित व्यक्तिको मनोविज्ञानमा नकारात्मक असर हुन नदिनको लागि तथा आर्थिक क्षेत्रमा समेत योगदान दिन सक्नेगरी ज्ञान सीप, कला, शिक्षामा राम्रो कार्यक्रम बनाउनुपर्ने आवश्यकता छ ।’

उनले कानुन मन्त्रालयलाई कुष्ठरोग सम्बन्धी गुनासोहरूलाई महत्त्व दिएर सम्बोधन गर्न पनि निर्देशन दिए । उनले आवश्यक कानुन निर्माण गर्दा सरोकारवालाहरूसँग बसेर छलफल गर्न पनि आग्रह गरे । सरोकारवाहरुसँग छलफल नागरिक बनाएको कानुन अपूर्ण भएर जाने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =