अछाम-२ मा प्रत्यक्षमा पराजित भएको कांग्रेस समानुपातिकमा पहिलो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्षतर्फको प्रतिस्पर्धामा पराजय व्यहोरेको कांग्रेसले समानुपातिकमा भने अन्य दललाई पछि पार्दै आफ्नो वर्चस्व कायम गरेको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार, नेपाली कांग्रेसले ९ हजार ५१२ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । नेकपा (एमाले) ८ हजार ९८५ मतसहित दोस्रो स्थानमा खुम्चिएको छ । प्रत्यक्षतर्फ नतिजा आफ्नो पक्षमा पारेको एमाले समानुपातिकमा भने कांग्रेसभन्दा ५२७ मतले पछि परेको हो ।
यस्तै, यसपटकको निर्वाचनमा नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अछाम २ मा पनि उल्लेख्य उपस्थिति जनाएको छ । रास्वपाले ५ हजार ८४० मत प्राप्त गर्दै जिल्लामा तेस्रो स्थान सुरक्षित गरेको छ । अर्कोतर्फ, तारा चुनाव चिह्न भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ४ हजार ८११ मतका साथ चौथो स्थानमा सीमित भएको छ ।
निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार अछाम क्षेत्र नं. २ मा कुल ८३ हजार ७५३ मतदाता रहेकोमा ३२ हजार ६५० मत खसेको थियो । जसमध्ये ३१ हजार ११९ मत सदर भएको छ भने १ हजार ५३१ मत बदर भएको छ ।










