गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन, कांग्रेस जोगाउने जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले सभापति गगनकुमार थापालाई तत्काल राजीनामा नदिन र पार्टी सुदृढीकरणको अभियानमा लाग्न सुझाव दिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र अनपेक्षित परिणामपछि थापाले नैतिकताको आधारमा राजीनामा दिने मनस्थिति बनाएको चर्चा भइरहँदा भण्डारीले यस्तो धारणा राखेका हुन् ।

थापाले राजीनामाका विषयमा उपसभापति विश्वप्रकाश शर्मासँग समेत परामर्श गरिरहेको बुझिएको छ । तर नेता भण्डारीले भने अहिलेको संकटपूर्ण अवस्थामा राजीनामा दिएर पलायन हुनुभन्दा जिम्मेवारी पूरा गर्नु नै सच्चा नेतृत्वको धर्म भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भण्डारीले भनेका छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो महाधिवेशनको बाटो रोज्नु नै अहिलेको समयसापेक्ष र जिम्मेवार निर्णय हुनेछ ।’

नेपाली राजनीतिमा युवा पुस्ताको आकर्षण घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै भण्डारीले पार्टीलाई अहिले ‘उपचार’को खाँचो रहेको बताएका छन् । ‘आजको कटु यथार्थ के हो भने युवाहरूले कांग्रेस छोड्दै गएका छन् । यस्तो बेला पार्टीलाई ओखती खुवाएर तन्दुरुस्त बनाउनुपर्छ, छोडेर हिँड्नु हुदैन,’ भण्डारीको तर्क छ ।

नेपाली राजनीतिमा नैतिकताको खडेरी परेको भन्दै उनले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ भिजनका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । समस्याबाट भाग्नु कायरता हुने उल्लेख गर्दै उनले संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twenty =