नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमवार निर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन् ।
गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार फागुन २० गते १९ जना सदस्यको कार्यकाल सकिएको हो । १९ जनामध्ये १८ जना सदस्यको माघ ११ गते निर्वाचन भएको हो ।
एक जना सदस्यलाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । राष्ट्रियसभा सदस्यमा नेपाली काँग्रेसका ९ जना, नेकपा एमालेका ८ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक जना सदस्य निर्वाचित भएका छन् ।
राष्ट्रियसभा सदस्यको कस्ता ?
महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले पटक पटक प्रतिनिधि सभा सदस्य भएर काम गरिसकेका छन् । नेपाली काँग्रेसबाट राजनीति सुरु गरेका ठाकुर काँग्रेसको कोषाध्यक्ष समेत बनेका थिए । तर उनी २०६२/६३ मा भएको मधेस आन्दोलनमा काँग्रेस छाडेर केन्द्रित राजनीतिमा लागेका हुन् । ठाकुर २०४८ सालमै काँग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जितेर उपसभामुख बनेका थिए । उनी २०५१, २०६४, २०७०, २०७४ र २०७९ मा उम्मेदवार बनेका थिए । उनी २०६४ र २०७० को निर्वाचनमा भने पराजित भएका थिए ।
सुनिलबहादुर थापा
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्विरोध निर्वाचित भएका सुनीलबहादुर थापा राष्ट्रिय सभा सदस्य हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक सल्लाहकार थिए । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हेमराज घिमिरे उम्मेदवार दर्ता गर्न समयमै निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन नसकेपछि थापा निर्विरोध निर्वाचित भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेका थापा हाल नेपाली काँग्रेसमा थिए । थापाले यसअघि संविधानसभा सदस्य र मन्त्री भएर काम गरेका छन् । २०७० सालमा धनकुटा क्षेत्र नम्बर–२ बाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएपछि उनी २०७४ साल जेठमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने उनी पराजित भएका थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा थिए ।
रामकुमारी झाँक्री
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको रामकुमारी झाँक्री प्रतिनिधि सभाकी पूर्वसदस्य तथा पुर्वमन्त्री हुन् । नेकपा एमालेले २०७४ मा झाँक्रीलाई समानुपातिक सांसद बनाएको थियो । पछि उनी एमाले विभाजन हुँदा माधवकुमार नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी शहरी विकास मन्त्री समेत बनिन् ।
२०७९ को प्रतिनिधि सभा सदस्यको चुनावमा एकीकृत समाजवादी बाट नै प्रत्यक्ष निर्वाचन लडेकी उनले पराजय भोग्नुपर्यो । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतको पार्टी एकीकरणप्रति विमति जनाउँदै एमालेमा फर्किएकी झाँक्रीलाई एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको हो । उनी हाल एमालेको केन्द्रीय सदस्य समेत छन् । झाँक्री एमालेको भ्रातृसंस्था अनेरास्ववियुको पूर्वअध्यक्ष समेत हुन् ।
ललितजंग शाही
नेपाली काँग्रेसको तर्फबाट कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाहीले संविधान सभा सदस्यको रूपमा काम गरिसकेका छन् । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा जुम्लाबाट उनी निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएपनि उनलाई नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको हो ।
शाही नेपाली काँग्रेसको कर्णाली प्रदेश सभापति समेत थिए । शाही २०५१ र २०५६ सालमा काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए भने २०७० सालको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेर चुनाव जितेका थिए ।
रोशनी मेचे
रोशनी मेचेलाई नेकपा एमालेले कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । उनी सीमान्तकृत मेचे समुदायकी हुन् । रोशनीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा बसेर काम गरेकी थिइन् । मेचेले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकी छन् ।
धमेन्द्र पासवान
मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको धमेन्द्र पासवान दलित अधिकारकर्मी हुन् । उनलाई नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको हो । काँग्रेसको भ्रातृसंस्था नेपाल दलित संघको महासचिव भएर काम गरिसक्नुभएका रौतहट निवासी पासवानले राजनीति शास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् ।
रञ्जित कर्ण
मधेस प्रदेशबाट नै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको रञ्जित कर्ण नेपाल विद्यार्थी संघ ९नेविसंघ० का पूर्व केन्द्रीय अध्यक्ष छन् । उनले २०७० सालको संविधानसभा सदस्य भएर पनि काम गरेका छन् । विद्यार्थीकालदेखि नै काँग्रेसमा सक्रिय नेता कर्ण ईन्जिनियर समेत छन् ।
रेखा झा
रेखा झालाई नेकपा एमालेले मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । नेकपा एमालेको मधेस प्रदेशकी सदस्य झालाई दुईपटक एमालेले समानुपातिक सूचीमा राखेको थियो । समानुपातिकबाट सांसद बन्न असफल झा राष्ट्रिय सभा सदस्य बन्न सफल भएकी छन् । झाले अर्थशास्त्र र सामाजिक शास्त्रमा स्नातक गरेकी छन् । उनले विगतमा मानवअधिकार एलायन्समा आबद्ध भई अधिकार र न्यायका पक्षमा काम गर्दै आएकी छन् ।
सोम पोर्तेल
दलित कलस्टर अन्तर्गत कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको सोम पोर्तेलसँग जिल्ला समन्वय समिति सभापति भएर काम गरेको अनुभव छ । पोर्तेलले नेकपा एमालेको वडा कमिटीबाटै राजनीतिक यात्रा सुरु गरेका थिए । २०३५ साल फागुनमा जन्मिएका पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव पनि छ । उहाँ २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुख थिए ।
डा. प्रेम दंगाल
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएको डा. प्रेम दंगाल एमालेका केन्द्रीय सदस्य हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट ‘ग्रामीण अर्थतन्त्र र खाद्य सम्प्रभुता’ विषयमा विद्यावारिधि गरेका छन् । लामो समयदेखि अखिल नेपाल किसान महासङ्घमा उनी हाल महासङ्घको केन्द्रीय अध्यक्ष हुन् ।
गीता देवकोटा
गीता देवकोटालाई नेपाली काँग्रेसले बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । २०४४ सालबाट नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिकमा प्रवेश गरेकी देवकोटा नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएकी थिए । उनी मौरीपालक किसान महासंघका उपाध्यक्ष समेत थिइन् ।
जगत तिमिल्सिना
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत जगत तिमिल्सिनालाई नेपाली काँग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । उनी २०७३ सालदेखि काँग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक संघको अध्यक्ष समेत छन् ।
सम्झना देवकोटा
लगातार तीन वटा निर्वाचनमा पराजय भोगेकी एमालेकी सम्झना देवकोटा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेकी छन् । यसअघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकाबाट उपमेयर र २०७९ को निर्वाचनमा सोही नगरपालिकामा मेयरको उम्मेदवार बनेकी थिइन् । तर दुवै निर्वाचनमा उनी पराजित भएकी थिइन् । २०८० माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि देवकोटालाई एमालेले उम्मेदवार बनाएको थियो तर त्यसपटक पनि उनले जित्न सकिनन् । तर २०८२ सालमा भएको काँग्रेस एमालेको गठबन्धनले उनलाई निर्वाचन जित्न सहज बनाइदिएको हो ।
मिना रखाल
कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी मिना रखाल एमालेकी नेतृ हुन् । दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य भएकी थिइन् ।
चन्द्रबहादुर केसी
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चन्द्रबहादुर केसी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाड गाउँका स्थायी बासिन्दा हुन् । बहुदलीय व्यवस्थाको उदयपछि गुल्मीको राजनीतिमा चन्द्र केसी चर्चित भएका हुन् । २०५६ सालमा गुल्मीको साबिक निर्वाचन क्षेत्र नम्बर २ बाट र २०७४ सालमा हालको क्षेत्र नम्बर २ बाट उनी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका थिए । तर उनी पराजित थिए । केसी २०४९ सालमा जिल्ला विकास समिति गुल्मीको सभापति तथा २०६७ सालमा नेपाली काँग्रेस गुल्मीको पार्टी सभापति भएका थिए । उनले २०२९ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन् ।
वासुदेव जंगली
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको वासुदेव जंगली नेपाली काँग्रेसको पुराना नेता हुन् । दाङ जिल्लाका जंगलीलाई नेपाली काँग्रेसले अपाङ्ग कोटाबाट राष्ट्रिय सभा सदस्य बनाएको हो ।
खम्मबहादुर खाती
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य भएको खम्मबहादुर खाती नेपाल बार एशोसिएशनका पूर्वमहासचिव र पूर्वमहान्यायाधिवक्ता हुन् । उनले नेपाली काँग्रेसका पूर्व पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएर काम गरेका थिए । वरिष्ठ अधिवक्ता समेत रहेका खाती २०४८ सालदेखि निरन्तर वकालत पेसामा सक्रिय थिए । उनले काठमाडौँ जिल्ला बार एशोसियसनको नेतृत्वदेखि २०७२ सालमा नेपाल बार एशोसियसनको महासचिव बनेर काम गरेका छन् । उनले २०५३ सालको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
लीलाकुमारी भण्डारी
लीला भण्डारी सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन् । उनी २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित संविधान सभा भएकी थिइन् तर २०७० सालमा भने पराजित भइन् ।
राष्ट्रिय सभा सदस्यमा निर्वाचनको लागी नेपाली काँग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका थिए भने नेपाली कम्युनिष्ट पार्टी एक्लै सहभागी भएको थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका थिए । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट सुरु भएको छ ।









