धनुषा निर्वाचन क्षेत्र नम्बर-१

मातृकालाई विजयी प्रमाणपत्र नदिएपछि नेकपाको आपत्ति, आयोगलाई दबाबमुक्त हुन आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका आफ्ना उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिन निर्वाचन आयोगले आलटाल गरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यद्वारा जारी विज्ञप्तिमा मत परिणाम सार्वजनिक भइसक्दा पनि विजयी उम्मेदवारलाई रोकेर राख्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । यसअघि फागुन १८ गते बसेको निर्वाचन आयोगको बैठकले निर्वाचन ऐन, २०७४ अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवारी खारेजीपछि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र आयोगकै निर्देशनमा फागुन २२ गते मतगणना सुरु गरिएको थियो । सबै उम्मेदवारका प्रतिनिधिहरूको रोहवरमा गरिएको मतगणनाबाट यादव विजयी भएको परिणाम सार्वजनिक भइसकेको छ ।

तर, सबै प्रक्रिया पूरा गरी विजयी भइसक्दा पनि आयोगले प्रमाणपत्र हस्तान्तरण नगर्नुलाई पार्टीले चिन्ताजनक र स्थापित विधि विपरीतको कार्य भनेको छ । कानुनबमोजिम उम्मेदवारी नै खारेज भई प्रतिस्पर्धामा नै नरहेका व्यक्तिको विषयलाई जोडेर विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु कानुनसम्मत नहुने जिकिर पार्टीले गरेको छ । विज्ञप्तिमार्फत पार्टीले निर्वाचन आयोगजस्तो गरिमामय संवैधानिक निकायलाई कुनै पनि प्रकारको राजनीतिक दबाबमा नपरी विधिको शासन पालना गर्न र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेको छ । यसैगरी, यस विवादमा न्यायालयले पनि कानुन र विधिसम्मत रूपमा न्यायपूर्ण निर्णय गर्नेमा पार्टीले पूर्ण विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =