रास्वपा दुई तिहाइ बहुमत नजिक, कुन पार्टीले कति सिट जिते ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रमसँगै मुलुकको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल देखिएको छ । प्राप्त पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा अभूतपूर्व वर्चस्व कायम गर्दै दुई तिहाइ बहुमतको लक्ष्य पछ्याइरहेको छ ।
बिहानसम्मको मत गणना अनुसार रास्वपाले प्रत्यक्षतर्फ १२४ स्थानमा सानदार जित हासिल गरिसकेको छ । हाल गणना जारी रहेको गोरखा क्षेत्र नम्बर १ मा समेत सोही पार्टीले फराकिलो मतान्तरसहित आफ्नो अग्रता सुरक्षित राखेको छ । समानुपातिकतर्फ पनि रास्वपाले ३७ लाख १ हजार १३१ मत प्राप्त गर्दै जनमतमा आफ्नो बलियो पकड प्रमाणित गरेको छ ।
यस निर्वाचनमा परम्परागत शक्ति मानिएका ठूला दलहरू भने अनपेक्षित रूपमा खुम्चिएका छन् । नेपाली कांग्रेस केवल १७ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा सीमित भएको छ । कांग्रेसले हाल इलाम–१ मा अग्रता लिइरहेको छ भने समानुपातिकतर्फ १२ लाख ४९ हजार ८४० मत प्राप्त गरेको छ ।
नेकपा एमालेका लागि यो निर्वाचन निकै निराशाजनक देखिएको छ । एमालेले प्रत्यक्षतर्फ हालसम्म केवल ८ स्थानमा मात्र जित निकाल्न सकेको छ भने संखुवासभामा उसको अग्रता कायमै छ । समानुपातिकतर्फ एमालेको झोलामा १० लाख ५९ हजार ८६ मत परेको छ ।
अन्य दलहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीले ७ स्थानमा जित दर्ता गर्दै समानुपातिकतर्फ ५ लाख ४४ हजार १६६ मत पाएको छ । तुलनात्मक रूपमा नयाँ शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टीले ३ स्थानमा जित निकाल्दै २ लाख ४९ हजार ३४६ समानुपातिक मत बटुल्न सफल भएको छ । यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षमा एक सिट सुरक्षित गर्दा समानुपातिकतर्फ २ लाख ६० हजार ६४५ मत प्राप्त गरेको छ ।









