बाजुरामा एमालेलाई हराउँदै कांग्रेसका जनकराज गिरी विजयी

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले बाजी मारेका छन् । आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५ सय ४० मतान्तरले पछि पार्दै गिरी विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार, नवनिर्वाचित गिरीले कुल १७ हजार १७३ मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिद्वन्द्वी नेकपा एमालेका थापाले १६ हजार ६३३ मत प्राप्त गरे । यसपटक बाजुराको चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य साना दलहरूको उपस्थिति पनि देखिएको छ । रास्वपाका उम्मेदवार हेमराज थापाले ३ हजार ४२८ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश शाहले पनि हेमराज थापासँगै समान ३ हजार ४२८ मत नै प्राप्त गरेका छन् ।
अन्य प्रतिस्पर्धीहरूको विवरण हेर्दा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाहीले ३५२ मत पाउँदा नेकपा माओवादीका उम्मेदवार भुपेन्द्र ल्वारको पक्षमा ३३३ मत खसेको छ । त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपककुमार डिसीले ९७ मत र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । जितसँगै बाजुरामा नेपाली कांग्रेसले आफ्नो पकड बलियो बनाएको छ ।









