सडकका बेथिति खोज्ने आशिकाको सानदार छलाङ

काठमाडौं । नेपाली राजनीतिमा पछिल्लो समय देखिएको ‘जेनजी’ पुस्ताको आक्रोश र छटपटीले अन्ततः निर्वाचनको मतपेटिकामार्फत एउटा नयाँ र शक्तिशाली सन्देश प्रवाह गरेको छ । वर्षौँदेखि सत्ताको बागडोर सम्हाल्दै आएका शीर्ष नेतृत्व र परम्परागत राजनीतिक दलहरूप्रतिको नागरिक निराशाको प्रतिबिम्ब यतिबेला धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रस्ट देखिएको छ ।

यस क्षेत्रका मतदाताले ३७ वर्षीया जुझारू युवा आशिका तामाङलाई अनुमोदन गर्दै संघीय संसद्‌को ढोका खोलिदिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेकी आशिकाले ३९ हजार १२८ मतको भारी अन्तरसहित सानदार जित हासिल गरेकी हुन् ।

उनले पञ्चायतकालदेखि नै चुनावी राजनीतिमा वर्चस्व कायम गर्दै आएका नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता राजेन्द्र पाण्डेजस्ता हस्तीलाई तेस्रो स्थानमा खुम्च्याइदिएकी छन् । अघिल्लो २०७९ सालको निर्वाचनमा रास्वपाका उम्मेदवार हिमेश पन्तले प्राप्त गरेको १२ हजार २९४ मतलाई उनले तीन गुणाभन्दा बढीले वृद्धि गरेर आफूलाई अब्बल सावित गरेकी छन् ।

वि.सं. २०३७ मा धादिङको मलेखुमा जन्मिएकी आशिकाको बाल्यकाल ग्रामीण अभाव र संघर्षमै बित्यो । उनले आफ्नो सार्वजनिक जीवनको सुरुवात भने नेपाली चलचित्र क्षेत्रबाट गरेकी थिइन् । सन् २०१५ मा प्रदर्शनमा आएको चलचित्र ‘सुश्री’ मा उनी मुख्य अभिनेत्री र निर्माताका रूपमा देखा परेकी थिइन् । केही समय जर्मनीमा बसोबास गरेर नेपाल फर्किएपछि उनको जीवनले नयाँ मोड लियो । ग्ल्यामरको दुनियाँलाई त्यागेर उनी हातमा मोबाइल क्यामेरा लिई समाजका बेथिति र अन्यायविरुद्ध सडकमा उत्रिइन् । सुरुवाती दिनमा ‘खसिनी दिदी’ भन्दै गिज्याउनेहरूको भिडमा पनि उनी डगमगाइनन् । ‘ग्रीन एन्ड क्लिन आशिका फाउन्डेसन’ मार्फत सरसफाइ र सार्वजनिक स्थलको अव्यवस्थाविरुद्ध उनले चलाएको अभियानले आम मानिसको ध्यान तान्यो ।

आशिकाको आक्रामक शैलीले उनलाई धेरै पटक राज्य संयन्त्रको तारो पनि बनायो । काभ्रेको साँगास्थित झोलुङ्गे पुलमा नियमविपरीत शुल्क उठाएको विरोधमा रसिद च्यातेपछि उनले प्रहरी हिरासत समेत भोग्नुपर्‍यो । तर, यही ‘विद्रोही’ स्वभावले उनलाई अन्यायविरुद्ध नझुक्ने एउटा दह्रो पात्रका रूपमा स्थापित गरिदियो । पछिल्लो समय देशमा चर्किएको युवा आन्दोलनका क्रममा घाइते भएकाहरूको घाउमा मलम लगाउन उनी जसरी अस्पताल र सडकमा खटिन्, त्यसले उनलाई ‘सामाजिक सञ्जालको भाइरल पात्र’ बाट ‘जनताको सेवक’ का रूपमा रुपान्तरण गरिदियो ।

काठमाडौंबाट स्वतन्त्र लड्ने सुरुवाती तयारी भए पनि अन्ततः रास्वपाको घण्टी बोकेर उनी गृहजिल्ला धादिङ पुगिन् । भ्रष्टाचारको अन्त्य, प्रशासनिक ढिलासुस्तीको अन्त्य र युवा पुस्ताको प्रतिनिधित्व गर्ने उनको प्रतिबद्धतालाई मतदाताले पूर्ण विश्वासका साथ अनुमोदन गरेका छन् । सडकका सानाभन्दा साना बेथिति खोज्दै हिँड्ने आशिका अब संसद्‌मा नीति निर्माणको तहमा पुगेकी छन् । ३९ हजारभन्दा बढी नागरिकको भरोसाको भारी बोकेकी उनको यो जितले एउटा स्पष्ट संकेत गरेको छ- अबको राजनीति केवल भाषणमा होइन, जनताको दैनिक जीवनसँग जोडिने कार्यशैलीमा केन्द्रित हुनुपर्छ ।  विद्रोही अभियन्तादेखि सांसदसम्मको उनको यो यात्रा नेपाली राजनीतिको एउटा ऐतिहासिक मोडका रूपमा सम्झिइने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =