रोल्पाको गौरव बढाउनु मेरो पहिलो कर्तव्य हुनेछ : वर्षमान पुन

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले रोल्पाको चौतर्फी विकास र रोजगारी सिर्जनामा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । जिल्लाबाट पुनः निर्वाचित भएपछि मतदाताहरूलाई विशेष धन्यवाद दिँदै पुनले जनताको विश्वासलाई टुट्न नदिने प्रतिबद्धता जनाएका हुन् ।

निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै पुनले रोल्पाली जनसमुदायप्रति हार्दिक आभार प्रकट गरेका छन् । उनले रोल्पाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूको अमूल्य मतले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गरे । ‘यहाँहरूले मप्रति देखाउनुभएको यो अटल विश्वासलाई म देश निर्माण र जिल्लाको समृद्धिमा खर्चनेछु,’ पुनले भने, ‘विगतमा जस्तै रोल्पाको मान, शान र गौरवलाई उच्च राख्दै म निरन्तर क्रियाशील रहने प्रण गर्दछु ।’

नेता पुनले प्राप्त जनमतलाई आफूले ऊर्जाको रूपमा लिएको र यसलाई जिल्लाको बेरोजगारी अन्त्य एवं आर्थिक समुन्नतिका लागि पूर्ण रूपमा सदुपयोग गर्ने बताएका छन् ।

अन्तिम मतपरिणाम अनुसार पुनले २७ हजार ४६० मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजार ४५२ को निकै फराकिलो मतान्तर कायम राखेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदन कुमावलीले १२ हजार ८ मत प्राप्त गरे । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालराम थापाले १० हजार ८९४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मतमा चित्त बुझाए । निर्वाचनमा नेकपा (माओवादी) का चुडामणी वलीले ३ हजार ७१४ मत ल्याएका छन् ।

यस जितसँगै पुनले रोल्पाको राजनीतिक विरासतलाई पुनः जोगाएका छन् । यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका पुनले अबको आफ्नो कार्यकाल जिल्लाको विकास र समृद्धिको अभियानमा समर्पित गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =