दोष गगनलाई होइन, दशकौँको फोहोरी राजनीतिलाई जान्छ : डा. सुनिल शर्मा

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार डा. सुनिल शर्मालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्कीले संसदको यात्रा तय गरेका छन् । सार्वजनिक अन्तिम मतपरिणामअनुसार कार्कीले ३६ हजार ९ सय २४ मत प्राप्त गरी जित हासिल गर्दा कांग्रेसका शर्मा २४ हजार ३ सय ५४ मतमा खुम्चिए । १२ हजार ५ सय ७० को फराकिलो मतान्तरसहित कार्कीले विजय झण्डा गाडेका हुन् ।
अप्रत्याशित हार बेहोरेपछि डा. सुनिल शर्माले प्रतिक्रिया दिँदै पराजयलाई केवल हारको रूपमा मात्र नहेरी कांग्रेसभित्रको संरचनात्मक सुधार र नेतृत्वको कार्यशैलीमाथि निर्मम प्रश्न उठाउने अवसरका रूपमा व्याख्या गरेका छन् । निर्वाचनमा पार्टीको निराशाजनक प्रदर्शनपछि सभापति गगन थापाको राजीनामा माग्ने आवाज उठिरहेका बेला शर्माले थापाको बचाउ गरेका छन् । उनले भनेका छन्, ‘यो कठिन घडीमा सभापति (गगन थापा) को राजीनामा माग्नु वा दिनु समाधान होइन, त्यो केवल क्षणिक भावावेश मात्र हो । नेतृत्वको हैसियतले उहाँमाथि नैतिक दायित्व रहला, तर आजको संकटको मूल कारण दशकौँदेखि चल्दै आएको फोहोरी र अवसरवादी राजनीति हो ।’
उनले सम्पूर्ण असफलताको भारी एउटै व्यक्तिको काँधमा थोपर्नु न्यायोचित नहुने तर्क गर्दै विगतका गलत निर्णय र जनभावना विपरीतका गतिविधिको परिणाम आज पार्टीले भोग्नुपरेको उल्लेख गरेका छन् । शर्माले कांग्रेसको वर्तमान अवस्थाका लागि ‘पुरानो नेतृत्व’ र उनीहरूको कमजोर कार्यशैली जिम्मेवार रहेको दाबी गरेका छन् । ‘जसले नागरिकको मन दुखायो र जनताको विश्वास कमजोर बनायो, त्यसको जिम्मेवारी पनि त्यही पुरानो नेतृत्वले लिनुपर्छ,’ उनले लेखेका छन् ।
उनले कोइराला परिवारको ऐतिहासिक विरासतलाई स्मरण गर्दै अब कांग्रेसलाई एकढिक्का बनाउन सोही परिवारले त्याग र विवेकपूर्ण नेतृत्व लिनुपर्नेमा जोड दिएका छन् । आफू पराजित भए पनि हतोत्साहित नभएको संकेत दिँदै शर्माले अब ‘शून्य’ बाट नयाँ संघर्ष सुरु गर्ने र जनताको गुमेको भरोसा पुनः जित्ने संकल्प गरेका छन् ।








