नवलपरासी-१ मा कांग्रेसको ३४ वर्षे विरासत भत्काउँदै रास्वपाका गौतम विजयी

काठमाडौं । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इतिहास रच्दै नेपाली कांग्रेसको साढे तीन दशक लामो विरासतलाई अन्त्य गरिदिएको छ । वि.सं. २०४८ सालदेखि कसैले तोड्न नसकेको कांग्रेसको यो ‘किल्ला’ मा रास्वपाका उम्मेदवार राजन गौतमले फराकिलो मतान्तरसहित सानदार जित हासिल गरेका हुन् ।

सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार , गौतमले ५० हजार ९ सय ४५ मत प्राप्त गर्दै विजयी झण्डा गाडेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत मात्र प्राप्त गरे । गौतमले घिमिरेलाई ३४ हजार ६ सय ५२ को विशाल मतान्तरले पराजित गरेका हुन् । यस्तै , नेकपा एमालेका उम्मेदवार भागिरथ सापकोटा ९ हजार १ सय ३१ मतमा खुम्चिएका छन् ।

नेपाली कांग्रेसको गढ मानिने यस क्षेत्रमा २०४८ सालयता अन्य कुनै पनि दलले जित निकाल्न सकेका थिएनन् । विशेषगरी , कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले २०६४ सालदेखि लगातार चार पटक यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका थिए । यसपटक कांग्रेसले शशांकको स्थानमा नयाँ अनुहारका रूपमा बालकृष्ण घिमिरेलाई चुनावी मैदानमा उतारेको थियो ।

तर , देशभरि फैलिएको रास्वपाको लहर र परिवर्तनको चाहनाका अगाडि कांग्रेसको ‘नयाँ कार्ड’ ले काम गर्न सकेन । पुरानो विरासत जोगाउने कांग्रेसको रणनीतिलाई असफल पार्दै मतदाताले यसपटक रास्वपाका गौतमलाई भारी मत दिएर संसदको यात्रा तय गराएका छन् । यस जितसँगै नवलपरासी-१ मा कांग्रेसको ३४ वर्षे एकाधिकार समाप्त भएको छ भने रास्वपाले आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =