कतिपय मतदाताले मतपत्रमा कुनैपनि चुनाव चिन्हमा सङ्केत नगरी मतपेटिकामा खसाले: आयोग

काठमाडौँ । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भई नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तीव्रता दिएको छ ।
निर्वाचन आयोगकाअनुसार हालसम्म देशभरबाट समानुपातिकतर्फ करिब ३ लाख मतगणना सम्पन्न भइसकेको छ ।
शनिवार अयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार मतदानका क्रममा कति मत बदर भयो भन्ने विषय आम चासोको विषय भएको बताए । अझै मत गणना गर्न बाँकी रहेकाले अहिले नै बदर मतको यकिन तथ्याङ्क दिन नसकिने स्पष्ट पारे ।
जिसीले अहिले छिटपुट रूपमा बदर मतका विवरणहरू आइरहेको भएपनि एकमुष्ट तथ्याङ्क आउन बाँकी रहेको बताए । आयोगकाअनुसार कतिपय निर्वाचन क्षेत्रहरूमा मतदाताहरू भोट हाल्न नै नआएको र केही ठाउँमा निकै कम प्रतिशत मात्र मतदान भएको छ । यसका साथै, कतिपय मतदाताले मतपत्रमा कुनैपनि चुनाव चिन्हमा सङ्केत नगरिकन खाली नै मतपेटिकामा खसालेको पाइएको छ । कुनैपनि चिह्नमा सङ्केत नगरिएका र खाली राखिएका मतपत्रहरू स्वतः बदरभागी हुने र रद्द हुने कानुनी व्यवस्था रहेको उनले बताए ।
उनले भने ‘अहिलेसम्म मतगणना भएको एकमुष्ट विवरण र बदर मतको सङ्ख्या नआएको हुनाले अन्तिम परिणाम आइसकेपछि मात्र यो सङ्ख्या यकिन गर्न सकिन्छ । सबै निर्वाचन क्षेत्रको परिणाम आइसकेपछि सदर मत र बदर मतको कुल सङ्ख्या निस्कन्छ र त्यसपछि मात्र बदर मतको प्रतिशत निकाल्न सकिन्छ । त्यसैले अहिले नै यसै भन्न सकिने अवस्था छैन ।’
प्रत्यक्षतर्फको नतिजा आउने क्रमसँगै समानुपातिकको गणना पनि सँगसँगै अगाडि बढाइएकोले छिट्टै सम्पूर्ण नतिजा सार्वजनिक हुने आयोगको भनाइ छ ।








