अहिलेसम्म २८ क्षेत्रको नतिजा आउँदा कहाँ को विजयी ? (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामअनुसार देशभरको चुनावी सरगर्मी थप बढेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म २८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

सार्वजनिक नतिजाअनुसार नयाँ शक्ति (राष्ट्रिय स्वतन्त्र पार्टी)ले पुराना राजनीतिक दलहरूको ‘किल्ला’ मानिएका क्षेत्रहरूमा अनपेक्षित जित निकाल्दै आफ्नो बर्चस्व कायम गरेको छ । २८ मध्ये २० क्षेत्रमा जित हासिल गर्दै रास्वपा पहिलो स्थानमा देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं, कास्की, मोरङ र तराईका जिल्लाहरूमा प्रभावशाली जित निकालेको छ । पछिल्लो अपडेटअनुसार महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो निर्वाचित भएका छन् । उनले ३४ हजार ६२६ मत प्राप्त गर्दै नेकपाका प्रभावशाली नेता गिरिराजमणि पोखरेललाई पराजित गरे । त्यस्तै, बाँके क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार २९ हजार ५५१ मतका साथ विजयी भएका छन् । उनले नेकपा एमालेका सुमन मल्ल र नेपाली कांग्रेसका अमर सिंह पुनलाई पछि पारे ।

रास्वपाबाट विजयी अन्य उम्मेदवारहरू:

  • धनुषा–३: मनिष झा (४३,१४२ मत)

  • मोरङ–६: रुबिना आचार्य (५५,५१३ मत – डा. शेखर कोइरालालाई पराजित गर्दै)

  • काठमाडौं–५: सस्मित पोखरेल (ईश्वर पोखरेल र प्रदीप पौडेललाई पराजित गर्दै)

  • काठमाडौं–४: पुकार बम (राजन भट्टराई र सचिन तिमल्सिनालाई पराजित गर्दै)

  • काठमाडौं–१: रञ्जु दर्शना (रवीन्द्र मिश्र र प्रबल थापालाई पराजित गर्दै)

  • काठमाडौं–९: डोलप्रसाद अर्याल (३५,०९३ मत)

  • काठमाडौं–८: विराजभक्त श्रेष्ठ (२४,५९२ मत)

  • काठमाडौं–६: शिशिर खनाल (२७,७११ मत)

  • काठमाडौं–३: राजुनाथ पाण्डे (कुलमान घिसिङलाई पराजित गर्दै)

  • काठमाडौं–१०: प्रदीप विष्ट (३७,४६९ मत)

  • कास्की–३: बिना गुरुङ (गण्डकीबाट रास्वपाकी एक्ली महिला विजेता)

  • कास्की–२: उत्तमप्रसाद पौडेल (३१,९११ मत)

  • मोरङ–४: सन्तोष राजवंशी (४०,८३३ मत)

  • बाँके–१: सुरेशकुमार चौधरी (३२,७९२ मत)

  • स्याङ्जा–१: धनञ्जय रेग्मी (२९,०७१ मत)

  • रुपन्देही–४: कन्हैया बनियाँ (२८,०६६ मत)

  • बाँके-३: खगेन्द्र सुनार

  • महोत्तरी-१ : प्रमोदकुमार महतो

  • चितवन-२ : रवि लामिछाने

नेपाली कांग्रेसले हालसम्म ५ वटा क्षेत्रमा जित निकालेको छ । तेह्रथुममा सन्तोष सुब्बाले नेकपा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै जित निकाले । अन्य विजेताहरूमा मुस्ताङ–१ बाट योगेश गौचन थकाली (लगातार दोस्रो पटक), रसुवा–१ बाट मोहन आचार्य (तेस्रो पटक), र मनाङ–१ बाट टेकबहादुर गुरुङ रहेका छन् । दैलेख–१ मा बासना थापाले कांग्रेसका लागि ऐतिहासिक जित दिलाएकी छिन् ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व–१ बाट निर्वाचित भएका छन् । पुराना शीर्ष नेताहरूमध्ये जित हासिल गर्ने उनी अहिलेसम्मका एक्ला नेता हुन् । त्यस्तै, कालिकोट–१ बाट महेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । नेकपा एमालेले हालसम्म बाँके–२ बाट मात्र जितको खाता खोलेको छ । एमालेका उम्मेदवार मोहम्मद ईश्तियाक राई २४ हजार ६२६ मतका साथ विजयी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =