मतदाताको फैसला स्वीकार्य छ, रास्वपाको उदय अप्रत्याशित होइन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको पछिल्लो परिणाम र जनमतलाई सहज रूपमा स्विकार्ने बताएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिइरहेको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आज सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मतदाताको फैसला शिरोधार्य हुने उल्लेख गरेका छन् । विगतको सशस्त्र द्वन्द्व र ‘बुलेट’ को राजनीतिबाट उदाएको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा स्वागत गर्दा देखाइएको संयमतालाई स्मरण गर्दै उनले अहिले ‘ब्यालेट’ (मतदान) बाट आएको रास्वपालाई पनि सोही रूपमा स्वागत गर्ने बताए । उनले लेखेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ । बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत ।’

उनले यो परिणामलाई वि.सं. २०७९ सालकै निर्वाचनले दिएको संकेतको निरन्तरताका रूपमा चित्रण गर्दै यसलाई अप्रत्याशित नभएको बताए । नयाँ शक्तिप्रति जनताको ठूलो आशा रहेको भन्दै उनले त्यो उत्साह निराशामा बदल्न नहुने सुझाव समेत दिएका छन् । मुलुकको मुख्य र साझा प्रश्नहरूमा आफ्नो दलको साथ रहने तर जनहितका विषयमा खबरदारी समेत गरिरहने उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =