काठमाडौं-१ मा रञ्जुले कटाइन् १० हजार मत, अरूको कति ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएकी छन् । शुक्रबार बिहानसम्मको पछिल्लो मतपरिणाम अनुसार दर्शनाले स्थापित दलका उम्मेदवारहरूलाई निकै पछाडि छाड्दै जिततर्फको यात्रा सहज बनाएकी हुन् ।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले दिएको शुक्रबार बिहान पौने ८ बजेसम्मको जानकारी अनुसार, कुल २० हजार ४८८ मत गणना हुँदा रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरे । यो मत कुल गणना भएको मतको करिब ५१ प्रतिशत हुन आउँछ ।
दर्शनाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका हुन् । अहिलेको अवस्थामा दर्शना र थापाबीचको मतान्तर ५ हजार ८४८ पुगेको छ । यो मतान्तरलाई राजनीतिशास्त्रका विश्लेषकहरूले रास्वपाप्रति मतदाताको ठूलो आकर्षण र ‘परिवर्तनको चाहना’ का रूपमा लिएका छन् ।
त्यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्र २ हजार ७४४ मतका साथ तेस्रो स्थानमा रहे । विगतका निर्वाचनमा मुख्य प्रतिस्पर्धामा देखिने गरेको नेकपा एमाले यसपटक भने निकै पछाडि परेको छ । एमालेका उम्मेदवार मोहन रेग्मीले हालसम्म मात्र ८६५ मत जोड्न सकेका छन् ।








