मुलुकभर घण्टीको लहर : ३२ ठाउँमा रास्वपा अगाडि, कांग्रेस र एमाले रक्षात्मक

काठमाडौं । मुलुकभर बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आक्रामक अग्रता लिएको छ । मतगणनाको प्रारम्भिक रुझान अनुसार रास्वपाले दुई-तिहाइभन्दा बढी स्थानमा अग्रता कायम गर्दै पुराना र स्थापित दलहरूलाई कडा चुनौती दिएको हाे ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार रास्वपा ३२ वटा निर्वाचन क्षेत्रमा अग्रस्थानमा देखिएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेका गढहरूमा समेत रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । विगतमा कांग्रेस र एमालेका उम्मेदवारहरू निरन्तर विजयी हुँदै आएका क्षेत्रमा देखिएको यो ‘घण्टी’को रापले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिएको छ ।
हालसम्मको मतगणनाको स्थिति हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ३२ सिटमा अग्रता लिँदै पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ४ क्षेत्रमा मात्र अगाडि देखिएको छ भने नेकपा एमाले ३ क्षेत्रमा खुम्चिएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनाव चिह्न जस्तो देखिने तारा चिन्हले १ क्षेत्रमा अग्रता लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको खातामा भने प्रारम्भिक अग्रता देखिएको छैन ।
केही निर्वाचन क्षेत्रहरूमा गए रातिदेखि नै मतगणना सुरु भएको थियो भने केही दुर्गम तथा हिमाली क्षेत्रहरूमा आज बिहान ७ बजेदेखि मात्र गणना प्रारम्भ गरिएको छ । सहरी क्षेत्र मात्र नभई ग्रामीण इलाकाहरूमा समेत रास्वपाको बलियो उपस्थिति देखिएपछि ठूला भनिएका दलका मुख्य उम्मेदवारहरू अहिले दबाबमा परेका छन् ।








