निर्वाचनले नेपालको सुरक्षा निकाय कुनैपनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित गर्‍यो: आईजीपी अर्याल

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षा व्यवस्थापनका हिसाबले सफलताउन्मुख रहेको बताएका छन् ।

बिहीबार आईजीपी अर्यालले सबै सुरक्षा निकाय, गृह मन्त्रालय र सरकारको दृढ अठोटका कारण सुरक्षा व्यवस्थापन प्रभावकारी भएको बताएका हुन् ।

उनले निर्वाचनको सुरक्षालाई लिएर गृहमन्त्रीदेखि सिपाही तहसम्मका सुरक्षाकर्मीले जिम्मेवारीपूर्वक काम गरेको उल्लेख गर्दै निर्वाचनले देशको भविष्य र राष्ट्रको सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सबै निकायले समन्वय गरेर काम बताए । उनले जेनजी आन्दोलनदेखि मतदानको दिनसम्म आइपुग्दा विभिन्न चुनौती र विषम परिस्थितिको सामना गर्नुपरे पनि सुरक्षा निकायले ती समस्याको विश्लेषण गर्दै एकीकृत सुरक्षा योजनाअनुसार काम गरेको बताए ।

उनले सुरक्षा निकायहरू जस्तोसुकै चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित गर्न यो निर्वाचन सुरक्षाको काम सफल भएको बताए ।

उनले भने ‘आज जुन आम निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय लगायत नेपाल सरकारले निर्वाचन गर्नुपर्छ भन्ने जुन खालको अठोट लिएर यो काम सुरु भएको थियो त्यसमा सुरक्षाको हिसाबले निर्वाचनमा तलमाथि नपरोस् भन्ने कुरामा गृहमन्त्रीज्यूदेखि लिएर सुरक्षाकर्मीको सिपाही तहसम्म सुरक्षा सफल पार्नुपर्छ भन्ने थियो । किनभने यो निर्वाचनले नै देशको भविष्य निर्धारण गर्ने र राष्ट्रको सुरक्षालाई समेत बचाउने मुख्य कारक भएको कारणले गर्दाखेरि यो निर्वाचन सम्पन्न गराउनमा सबै दर्जाको सुरक्षाकर्मीको योगदान भएको कारणले निर्वाचन सफलतातर्फ उन्मुख भइरहेको जस्तो लाग्छ । यो बीचमा हामीले निकै धेरै चुनौतीको सामना गर्नुपर्यो । राज्यको एकदमै विषम परिस्थिति पनि थियो । त्यो समयमा हामीले देखापरेका चुनौतीहरूलाई हामीले राम्रोसँग केलायौँ । जब हामीले समस्याको परिचालन गर्न सक्थ्यौँ । तब मात्रै समाधानको उपायहरू निस्किन्छ । त्यो सबै समस्याको समाधान भयो र वेस्ट केस प्लानिङ हामीले गर्यौँ । सोही प्लानअनुसार नै हाम्रो समग्र संयन्त्र अगाडि बढेर गयो । कसैले पनि समयमा निर्वाचन हुँदैन भन्थे । हामीले सबै पक्षलाई बुझाउने कोसिस गर्यौँ । र आज हामी नेपालका सुरक्षा निकायहरू जस्तोसुकै समस्या समाधान गर्न पनि सक्षम छ भन्ने कुरा प्रमाणित गर्नको लागि गरेको काम सफल भयो जस्तो लाग्छ मलाई ।’

उनले मतदानस्थलबाट मतपेटिका संकलनदेखि परिणाम नआउन्जेलसम्म एकीकृत सुरक्षा योजनाअनुसार नै अगाडि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =