५ बजेभित्रै मतदान गर्न जानुहोस्: आयुक्त तुलाधर

काठमाडौँ । निर्वाचन आयुक्त डा, जानकीकुमारी तुलाधरले आम महिला मतदाताहरूलाई आफ्नो घरायसी काम सकेर समयमै मतदान केन्द्रमा पुगी मताधिकार प्रयोग गर्न विशेष अपिल गरेकी छन् ।
तथ्याङ्कगत रूपमा देशमा महिलाको जनसङ्ख्या बढी भएपनि विगतका निर्वाचनहरूमा महिला मतदाताको मत खस्ने प्रतिशत पुरुषको तुलनामा कम देखिने गरेको रेकर्डलाई मध्यनजर गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।
उनले यसपटक महिलाहरूको मतदान प्रतिशत बढाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । मतदान गर्न जाँदा मतदाताहरूले परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने कुरा पनि उनले स्मरण गराइन् ।
आयोगले मतदानका लागि ६ वटा विभिन्न परिचयपत्रहरूलाई मान्यता दिएको छ । आयुक्त तुलाधरकाअनुसार मतदाताले नागरिकताको प्रमाणपत्र, जग्गाधनी लालपुर्जा, राहदानी ९पासपोर्ट०, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० र निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र मध्ये कुनै एउटा परिचय खुल्ने कागजात साथमा लिएर गएमा सहज र सरल तरिकाले मतदान गर्न पाउनेछन् ।
उनले भनिन् ‘आम महिला मतदाताहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यहाँले आफ्नो घरायसी कामहरूलाई सकेर मतदान गर्न जानुहोस् । ५ बजेसम्म हामीले मतदान गर्न पाउने हाम्रो समय रहेको छ । समयमै यहाँहरू मतदान केन्द्रमा गएर आफ्नो अधिकारको सदुपयोग गरिदिनुस् । र आफ्नो अमूल्य मतको पनि यहाँले सदुपयोग गरिदिनुस् भन्ने पनि अनुरोध गर्न चाहन्छु । यहाँहरूको साथमा परिचय खुल्ने कागज आयोगले पहिले नै यसलाई निर्धारण गरिसकेको अवस्था छ । एउटा नागरिकताको प्रमाणपत्र, अर्को जग्गाधनी लालपुर्जा, राहदानी र राष्ट्रिय परिचयपत्र, सवारी चालक र हाम्रो मतदाता परिचयपत्र यी मध्ये एउटा परिचय खुल्ने कागज यहाँहरूले साथमा लिएर जानुभयो भने यहाँले सहज रूपमा, सरल तरिकाले यहाँले आफ्नो मतदान गर्न पाउनुहुन्छ । ५ बजेभित्र समयमै यहाँहरू आफ्ना आफ्ना मतदान केन्द्रमा गएर यसपालि महिलाको मतदानको प्रतिशतलाई यहाँहरूले बढाउने कुरामा यहाँहरूले सहयोग गरिदिनुहुनेछ भन्नेकुरा पनि म आग्रह गर्न चाहन्छु ।’
आफ्नो अमूल्य मतको सदुपयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन र महिलाहरूको उत्साहजनक उपस्थिति देखाउन उनले आह्वान गरिन् ।








