सर्लाहीको बलरामा कडा सुरक्षाबीच मतदान पुनः सुचारु

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित एक मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरूबीच उत्पन्न विवादले उग्र रूप लिँदा केही समय स्थगित भएको मतदान प्रक्रिया पुनः सुचारु भएको छ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूबीच विवाद र ढुंगामुढा भएपछि मतदान कार्य प्रभावित भएको थियो ।

उक्त मतदान केन्द्रमा आज बिहानैदेखि दुई पक्षबीच सामान्य भनाभन र तनावको स्थिति सिर्जना भएको थियो । विवाद बढ्दै जाँदा ढुंगामुढा समेत भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मतदान प्रक्रिया करिब एक घण्टाभन्दा बढी समयका लागि रोकिएको थियो ।

घटनाको जानकारी लगत्तै स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका उच्च अधिकारीहरूको टोली घटनास्थल पुगेको थियो । सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएपछि अहिले पुनः मतदान कार्य सुरु भएको छ ।

कुल १ हजार ३ मतदाता रहेको सो केन्द्रमा विवाद हुनुपूर्व साढे तीन सय मत खसिसकेको थियो । मतदान पुनः सुरु भएसँगै सुरक्षाकर्मीहरूले मतदातालाई सुरक्षित वातावरणमा मताधिकार प्रयोग गर्न आह्वान गरेका छन् । जिल्ला सुरक्षा समितिले मतदान गरिसकेका व्यक्तिहरूलाई केन्द्र वरपर भीडभाड नगर्न र शान्ति सुव्यवस्था कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =