दोलखाको तामाकोशीमा विवाद, स्थिति नियन्त्रणमा लिन हवाई फायर

काठमाडौं । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा मतदानका क्रममा विवाद उत्पन्न भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । तामाकोशी गाउँपालिका-४ स्थित मतदान केन्द्रमा चुनावी प्रक्रिया चलिरहेका बेला कर्मचारीमाथि नै आक्रमणको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातको प्रयास भएपछि सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले घटनाको पुष्टि गरे ।

उनका अनुसार मतदान केन्द्रमा खटिएका कर्मचारीलाई लक्ष्य गरी केही व्यक्तिहरूले अभद्र व्यवहार र हातपातको प्रयास गरेपछि प्रहरीले स्थिति सम्हाल्न हवाई फायर गर्नुपरेको हो । ‘तामाकोशीको वडा नम्बर ४ मा कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले एक–दुई राउण्ड हवाई फायर गरेका हुन् ’ आलेले भने ।

अहिले उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको र अवस्था सामान्य भइसकेको प्रशासनले जनाएको छ । घटनापछि केही समय रोकिएको मतदान प्रक्रियालाई पुनः सुचारु गर्ने प्रयास भइरहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =