मैतीदेवीमा मतदान गरेपछि गगनले भने- ‘मधेसले मेरो सोच्ने तरिका नै बदलिदियो’ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ को उम्मेदवारीले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताएका छन् । सोमबार काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

मधेसमा उम्मेदवार बनेर त्यहाँको जनजीवनसँग जोडिँदा आफ्नो दृष्टिकोण र सोच्ने तरिका नै बदलिएको थापाले उल्लेख गरे । विगतका निर्वाचनहरूमा आफैँ उम्मेदवार हुँदा आफैँलाई मतदान गर्ने गरेको स्मरण गर्दै उनले यसपटक भने युवा उम्मेदवार सचिन तिमल्सिनालाई मत हाल्न पाउँदा बेग्लै खुसी मिलेको बताए ।

आफू एक राजनीतिज्ञ भए पनि विगतमा मधेसलाई बाहिरबाट मात्रै हेरेको र त्यहाँको वास्तविक धरातल बुझ्न नसकेकोमा उनले आत्मग्लानि समेत व्यक्त गरे । उनले भने, ‘मधेसलाई बाहिरै बसेर हेर्दा र त्यहाँको माटोमा पुगेर बुझ्दा धेरै भिन्नता पाइने रहेछ । विगतमा मधेसको वास्तविक अवस्था नबुझेकोमा मलाई लज्जा महसुस भएको छ । सर्लाही-४ को बसाइले मलाई देश हेर्ने नयाँ नजर र राजनीतिक पूर्णता दिएको छ ।’

आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ को पछिल्लो अवस्थाबारे जानकारी दिँदै थापाले केही मतदान केन्द्रमा सामान्य तनाव भएर मतदान रोकिए पनि सर्वदलीय छलफलपछि पुनः सुचारु भएको जानकारी दिए । विपक्षीहरूले उत्तेजित बनाउने प्रयास गरे पनि कांग्रेसले संयमता अपनाएको उनले दाबी गरे । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको र कुनै पनि अप्रिय घटना हुन नदिने उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twenty =