पाँच दिनभित्र सबै परिणाम आइसक्छ : कार्यवाहक प्रमुख आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २५ गतेभित्रै प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम मत परिणाम सार्वजनिक गर्ने बताएका छन् । बिहीबार बिहान काठमाडौं महानगरपालिका-२९ स्थित वडा कार्यालय मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेपछि उनले यस्तो योजना सुनाएका हुन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकभर स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको जानकारी दिए । उनले सबै मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न र निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान समेत गरे ।
निर्वाचन आयोगले यसपटक छिटोछरितो रूपमा परिणाम दिन विशेष तयारी गरेको उनले उल्लेख गरे । ‘खसेको मतको आधारमा पर्याप्त संख्यामा मतगणना टोली परिचालन गरेर छिटो नतिजा सार्वजनिक गर्ने आयोगको योजना छ,’ उनले भने, ‘हाम्रो अठोट फागुन २५ भित्रै प्रत्यक्षतर्फको १६५ र समानुपातिकतर्फको ११० सिटैको परिणाम सार्वजनिक गरिसक्ने छ ।’
आज देशभर पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान कार्य जारी छ । आयोगले मतगणनालाई व्यवस्थित बनाउन र तोकिएकै समयमा नतिजा दिन मातहतका निकायलाई निर्देशन दिइसकेको उनको भनाई छ ।









