नयाँ र पुरानो होइन, सही र गलतको भाष्य निर्माण गरौँ : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा पछिल्लो समय चर्चामा ल्याइएको ‘नयाँ र पुरानो’ शक्तिबीचको द्वन्द्वको भाष्य राष्ट्रहितमा नरहेको टिप्पणी गरेका छन् । चितवन-३ स्थित भरतपुर-१४ को प्रहरी विद्यालय मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेकी हुन् ।

संयोजक प्रचण्डले कुनै पनि दललाई उमेर वा स्थापनाकालका आधारमा नभई उनीहरूको विचार, कार्यदिशा र प्रवृत्तिका आधारमा मूल्याङ्कन गरिनुपर्नेमा जोड दिए । ‘अहिले समाजमा नयाँ र पुराना भनेर जुन किसिमको भाष्य स्थापित गर्न खोजिएको छ, त्यो देशको हितमा छैन,’ उनले भने, ‘हामीले नयाँ र पुरानो भन्दा पनि कुन सही र कुन गलत हो भन्ने आधारमा बहसलाई अगाडि बढाउनुपर्छ ।’

राजनीतिक दलहरूको औचित्य उनीहरूले अघि सार्ने योजना र जनमुखी कार्यक्रममा निर्भर हुने उल्लेख गर्दै प्रचण्डले कार्यक्रमकै आधारमा दलहरूको वर्गीकरण हुनुपर्ने बताए । उनले थपे, ‘यो सवाल नयाँ वा पुरानोको हुँदै होइन । दलहरूले देश र जनताका लागि कस्तो योजना ल्याएका छन् र उनीहरूको कार्यक्रम के हो भन्ने मुख्य कुरा हो । राष्ट्र, लोकतन्त्र र प्रगतिको पक्षमा को उभिएको छ, त्यसकै आधारमा सही र गलत छुट्याइनुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आम नागरिकलाई आफ्नो विवेक प्रयोग गरेर सही पक्षको छनोट गर्न आग्रह गरे । ‘नयाँ र पुरानो भन्दै भ्रम छर्नु लोकतन्त्रका लागि सुखद पक्ष होइन,’ उनले दोहोर्‍याए, ‘त्यसैले सबै मतदाताले आफ्नो विवेकको प्रयोग गरौँ र सहीको पक्षमा उभिऔँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =