बालेन शाहले गरे काठमाडौंको सिनामंगलबाट मतदान

काठमाडौं । मुलुकभर उत्साहजनक रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले काठमाडौँको सिनामंगल पुगेर मतदान गरेका छन् । झापाबाट चुनावी प्रतिस्पर्धामा रहेका नेता शाह मतदानका लागि काठमाडौँ आएका हुन् ।
उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रमा पुगी आफ्नो मताधिकार प्रयोग गरेका हुन् । ‘जेनजी’ आन्दोलनपछिको विकसित विशिष्ट राजनीतिक परिस्थितिबीच हुन लागेको यो निर्वाचनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो । यसअघि २०७४ र २०७९ मा आम निर्वाचन सम्पन्न भइसकेका छन् ।
निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि देशभर एकै चरणमा मतदान प्रक्रिया सुरु भएको हो । मतदानका लागि मतदाताहरू बिहान ६ बजेदेखि नै उत्साहपूर्वक लामबद्ध भएका थिए । मतदान कार्य आज बेलुका ५ बजेसम्म जारी रहनेछ ।








