जनताको भरोसा नै हाम्रो जितको आधार : कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं काठमाडौं क्षेत्र नं. ३ का उम्मेदवार कुलमान घिसिङले आम जनताको अटुट विश्वासका कारण आफ्नो पार्टीले आसन्न निर्वाचनमा सानदार जित हासिल गर्ने दाबी गरेका छन् । बिहान ७ बजे बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।
मतदानपश्चात् सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष घिसिङले जनताको उत्साहजनक सहभागिताले परिवर्तनको संकेत गरेको बताए । उनले भने, ‘जनताले हामीप्रति ठूलो भरोसा राखेका छन् । उहाँहरूको यही विश्वास नै हाम्रो जितको मुख्य आधार हो ।’
निर्वाचनको समग्र वातावरणबारे चर्चा गर्दै उनले हालसम्मको अवस्था शान्तिपूर्ण र संयमित रहेको उल्लेख गरे । तर, निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधिप्रति भने उनले संकेत गरे । ‘समग्रमा मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ, तर केही स्थानमा पैसाको प्रलोभन देखाएर मतदाता प्रभावित पार्न खोजिएको भन्ने सूचनाहरू आएका छन्,” उनले थपे, “यस्तो चर्चा मेरो आफ्नै निर्वाचन क्षेत्रमा पनि सुन्नमा आएको छ ।’
काठमाडौं क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका घिसिङले विकास र समृद्धिको एजेन्डा बोकेर आफू जनतामाझ गएको र यसपटकको नतिजा सकारात्मक आउने विश्वास दिलाए । बिहानैदेखि मतदान केन्द्रहरूमा देखिएको मतदाताको बाक्लो उपस्थितिले लोकतन्त्रलाई थप सुदृढ बनाउने उनको तर्क थियो ।








