साँखु सडकमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज : बोराभित्र ढुङ्गा मात्रै फेला

काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका-९, इन्द्रायणीस्थित चाबहिल-साँखु सडकखण्डमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको छ । बिहान सडकको बीच भागमा बेवारिसे वस्तु फेला परेपछि केही समय सो क्षेत्रमा त्रास फैलिएको थियो ।

सशस्त्र प्रहरी बलको सुरक्षा बेस थलीबाट इन्स्पेक्टर परशुराम थापाको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले सडकमा शंकास्पद वस्तु देखेपछि तत्काल सुरक्षा घेरा हाली नेपाली सेनालाई खबर गरेको थियो । सुरक्षाकर्मीका अनुसार बोरामाथि राखिएको एउटा बट्टालाई तारले बेरेर बम जस्तो देखिने गरी सडकको बीचमा छाडिएको थियो ।

खबर प्राप्त हुनासाथ सुन्दरीजलस्थित नेपाली सेनाको रणचण्डी गणबाट खटिएको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । सेनाको टोलीले बिहान करिब ६ बजे उक्त वस्तुलाई डिस्पोज गरेको हो । निष्क्रिय पार्ने क्रममा उक्त वस्तु विष्फोटक पदार्थ नभई बोराभित्र ढुङ्गा राखेर भ्रम फैलाउने उद्देश्यले मात्र राखिएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शंकास्पद वस्तुका कारण केही समय अवरुद्ध बनेको चाबहिल–साँखु सडकखण्ड सेनाले वस्तु सुरक्षित रूपमा हटाएसँगै पुनः सुचारु भएको छ । हाल सो क्षेत्रको यातायात र जनजीवन सामान्य रहेको छ भने घटनाको सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =