रास्वपा उम्मेदवारमाथि आक्रमण : रूपन्देहीमा कुटपिट, धनुषामा गाडी तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा कार्यकर्ताहरूमाथि भौतिक आक्रमणका घटनाहरू बढ्न थालेकाे सो पार्टीले जनाएको छ । रूपन्देहीमा कुटपिट भएको छ भने धनुषामा गाडी तोडफोड गरिएको हो ।

रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार अधिवक्ता सुलभ खरेलसहितका नेता तथा कार्यकर्तामाथि साङ्घातिक आक्रमण भएको छ । पार्टीको निर्वाचन परिचालन समितिको सचिवालय रहेको होटल नमोबुद्धमा चुनावी तयारी बैठक बसिरहेको अवस्थामा नेकपा (एमाले) सम्बद्ध कार्यकर्ताहरूले आक्रमण गरेको रास्वपाले जनाएको छ ।

रास्वपा रूपन्देहीका अनुसार एमालेका जिल्ला उप-सचिव बाबुराम पन्थी र युवा संघका अध्यक्ष कृष्ण कुमालको नेतृत्वमा आएको टोलीले रास्वपाका नेता तथा सैनामैना नगरपालिकाका पूर्व मेयर चित्रबहादुर कार्की र क्षेत्र नं. २ का सचिव बाबुराम अर्यालमाथि हातपात तथा कुटपिट गरेका हुन्।  आक्रमणबाट केही नेता-कार्यकर्ता घाइते भएका छन्। हारको मानसिकताबाट अत्तालिएर विपक्षीले अमानवीय र अलोकतान्त्रिक व्यवहार देखाएको भन्दै रास्वपा जिल्ला समितिले यसको घोर भर्त्सना गरेको छ ।

धनुषामा मनिष झाको गाडी तोडफोड
यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं. ३ मा पनि रास्वपाका उम्मेदवार मनिष झामाथि आक्रमणको प्रयास भएको छ । चुनावी अभियानकै क्रममा झालाई लक्षित गरी अज्ञात समूहले उनको गाडी तोडफोड गरेको छ । सो क्रममा झाका चालकमाथि समेत निर्घात कुटपिट गरिएको जानकारी प्राप्त भएको छ।

यी दुवै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले कडा आपत्ति जनाएको छ । पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै विचार र नीतिको आधारमा हुनुपर्ने प्रतिस्पर्धामा हिंसा र आक्रमणको बाटो रोज्नु लोकतन्त्रको मर्ममाथिको प्रहार भएको बताएको छ ।

रास्वपाले घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई तत्काल पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन र सुरक्षा निकायसँग जोडदार माग गरेको छ । ‘हिंसा र आक्रमणको राजनीतिलाई नेपाली जनताले कहिल्यै स्वीकार गर्ने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी आगामी निर्वाचन प्रक्रियालाई भयमुक्त, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकार र सुरक्षा निकायसँग विशेष आग्रह गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =