यी कागजात देखाएर मतदान गर्न सकिने

काठमाडौं । देशभर आज प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचन आयोगका अनुसार ७७ वटै जिल्लामा एकै चरणमा मतदान सम्पन्न गरिनेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।
यस पटक प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद निर्वाचित हुनेछन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्यसहित कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदानका लागि योग्य छन् । उनीहरूका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ६५ राजनीतिक दलका तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य उम्मेदवार रहेका छन् । समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार चुनावी दौडमा छन्, जसमा एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला सहभागी छन् ।
मतदाता नामावलीमा नाम समावेश भए पनि मतदाता परिचयपत्र साथमा नभएका नागरिकलाई मतदानबाट वञ्चित नगरिने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ । त्यस्ता मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रति देखाएर मत दिन सक्नेछन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकताका साथ मतदानको सुविधा उपलब्ध गराइने जनाइएको छ ।
निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र निष्पक्ष बनाउन व्यापक सुरक्षा परिचालन गरिएको छ । ७९ हजारभन्दा बढी नेपाली सेना, ७५ हजार नेपाल प्रहरी, ३४ हजार सशस्त्र प्रहरी, एक हजार ९०० भन्दा बढी राष्ट्रिय अनुसन्धानका अधिकारी र करिब डेढ लाख म्यादी प्रहरी परिचालित छन् । साथै, निर्वाचन व्यवस्थापनका लागि दुई लाख १५ हजार कर्मचारी खटिएका छन् । मतदान सुरु भएसँगै देशभरका गतिविधि र नतिजा सम्बन्धी अद्यावधिक विवरण सम्बन्धित सञ्चारमाध्यमका विशेष पोर्टलमार्फत प्राप्त गर्न सकिनेछ ।








