उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् । निर्वाचनमा दिइने भोट केवल एक मत मात्र नभई नागरिकमा निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको उल्लेख गर्दै उनले सही उम्मेदवार छनोट गर्न सुझाव दिएका हुन् ।
मतदातालाई सचेत गराउँदै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले उम्मेदवारले मतदाताको महत्त्वपूर्ण अधिकार कसरी प्रयोग गर्छ र त्यो अधिकार प्रयोग गर्न सक्ने हैसियत राख्छ कि राख्दैन भन्ने कुरामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए । उम्मेदवारले व्यक्ति र मुलुकको भविष्य कसरी बनाउँछ भन्ने कुरामा आफू पूर्ण रूपमा विश्वस्त भएपछि मात्रै उम्मेदवारलाई ‘फिल्टर’ गरेर भोट हाल्न उनले आग्रह गरे । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पोखरेलले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सञ्चारमाध्यमको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताए । सञ्चारमाध्यमले भ्रम, अफवाह र गलत सूचनाहरूलाई नियन्त्रण गर्नुपर्ने भन्दै उनले सञ्चारकर्मीहरूलाई आफ्नो आचरण र परिधिभित्र रहेर काम गर्न आग्रह समेत गरे ।
उनले भने, ‘आम मतदातालाई मेरो आग्रह के छ भनेदेखि तपाईंले यो निर्वाचनमा आफ्नो एउटा भोट मात्रै हाल्नुभएको छैन । त्यो मतमार्फत तपाईंमा अन्तर्निहित सार्वभौम सत्ता अधिकार प्रतिनिधिलाई प्रत्यायोजन गर्दै हुनुहुन्छ । तपाईंको त्यो महत्त्वपूर्ण अधिकार उसले कसरी प्रयोग गर्छ, उसले त्यो प्रयोग गर्न सक्ने हैसियत राख्छ कि राख्दैन ? त्यो उम्मेदवारले तपाईंको भविष्य अथवा मुलुकको भविष्यलाई कसरी बनाउँछ भन्ने लाग्छ जहाँ तपाईं कन्भिन्स हुनुहुन्छ, त्यस्तो आफूले फिल्टर गरेर मात्रै आफ्नो अमूल्य मताधिकारलाई प्रयोग गर्नुस् । सबभन्दा भूमिका मिडियाको छ । भ्रम, अफवाह, गलत सूचनाहरूलाई तपाईंहरू कन्ट्रोल गर्दिनुस्, आफ्नो आचरणभित्र बस्दिनुस् र कसरी निर्वाचनको शुद्धता कायम गर्न सकिन्छ तपाईंहरूका सब प्रयासहरू त्यस दिशातर्फ केन्द्रित हुन्, सबैलाई मेरो यही आग्रह छ ।’
निर्वाचनमा खसालिने एउटा मत केवल प्राविधिक प्रक्रिया मात्र नभई मतदातामा अन्तर्निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको उनले बताए ।








